क्याबिनेट निर्णयपछि बढ्यो डाक्टरहरुको ‘डिभोर्स’ को खतरा
नेपाल चिकित्सक संघले सार्वजनिक बिदाका दिन समेत अस्पतालहरुमा बहिरंग सेवा सञ्चालन गर्ने सरकारको निर्णय फिर्ता लिन माग गरेको छ । सार्वजनिक बिदाका दिन अस्पतालमा बहिरंग सेवा प्रवाह गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पचाचारको सम्बन्धमा गम्भीर ध्यानाकर्षण जनाउँदै संघले यस्तो माग गरेको हो ।
संघले विज्ञप्ति जारी गर्दै उक्त निर्णय मानवीय दृष्टिकोणले अव्यवहारिक तथा अवैज्ञानिक भएको बताएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मी पनि मानव नै भएकाले अन्य पेशाकर्मीलाई जस्तै आरामको आवश्यकता रहने र सार्वजनिक बिदाका दिन समेत काम गर्दा उनीहरुको शारिरिक तथा मानसिक स्वास्थ्यमा असर पर्ने संघको तर्क छ ।
‘कामको अत्याधिक बोझ तथा लगातारको तनावले गर्दा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको पारिवारिक जीवनमा समेत गम्भीर असर पर्न गई परिवारमा असमझदारी, वैवाहिक जीवनमा तनाव तथा ‘डिभोर्स’ सम्म हुने गरेका घटनाहरु देखिएका छन्,’ संघले भनेको छ, ‘यसका साथै कतिपय स्वास्थ्यकर्मीहरुमा अत्याधिक तनावका कारण जटिल मानसिक समस्याहरु उत्पन्न भई आत्महत्याको प्रवृत्ति पनि देखा परिरहेको मौजुदा आधारमा बिदाका दिनमा समेत थप कार्यबोझ थपिदिने कार्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि ठूलो अन्याय हो ।’
स्वास्थ्यकर्मीलाई पनि अन्य पेशाकर्मीलाई जस्तै आफ्नो कार्यकौशलताको पूर्ण प्रयोग गर्दै गुणस्तरीय सेवा प्रवाह गर्नका लागि बिदा अपरिहार्य रहेको कुरालाई नकार्न नसकिने भन्दै संघले सार्वजनिक बिदामा बहिरंग सेवा सञ्चालन गर्ने निर्णय अविलम्ब फिर्ता लिन माग गरेको छ ।
भदौ ७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (ओपीडी सेवासमेत) प्रवाहको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएको थियो । कार्यालयको पत्रपछि मन्त्रालयले अस्ति देशभरका अस्पताललाई पत्राचार गरेको हो ।
टिप्पणीहरू