पूर्व आईजीपीहरु भन्छन् : सञ्चारमन्त्रीले प्रहरी प्रमुखसँग माफी माग्नुपर्छ

पूर्व आईजीपीहरु भन्छन् : सञ्चारमन्त्रीले प्रहरी प्रमुखसँग माफी माग्नुपर्छ

नेपाल प्रहरीका पूर्वमहानिरीक्षकहरुको संगठन ‘पूर्वप्रहरी संगठन प्रमुख मञ्च’ ले सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कारबाहीको माग गरेको छ । 

आफ्नो पदीय हैसियतविपरीत उहाँले प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरविरुद्ध अमर्यादित र अशोभनीय शब्दावलीको प्रयोग गरेको भन्दै मञ्चद्वारा जारी विज्ञप्तिमा मन्त्री गुरुङलाई आवश्यक कारबाही गर्न माग गरिएको छ । 

‘बहाल तथा पूर्वसुरक्षाकर्मीको मानमर्दन हुने यस प्रकृतिको घटनाका सम्बन्धमा सम्मानीय प्रधानमन्त्रीज्यूलाई माननीय मन्त्रीन्यूको असंवेदनशील अभिव्यक्तिलाई संज्ञानमा लिनु भई आवश्यक कारबाही गर्नहुन अनुरोध गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

मञ्चले मन्त्री गुरुङलाई आईजीपी कुँवरसमक्ष क्षमायाचना गर्न माग गरेको छ । क्षमायाचन गरी आगामी दिनमा सुरक्षा निकायउपर टिप्पणी गर्नुपूर्व थप सचेत हुन मञ्चको आग्रह छ । शनिबार नेकपा एमालेनिकट प्रेस चौतारी नेपालको कार्यक्रममा मन्त्री गुरुङदले आईजीपी कुँवरको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिनुभएको थियो । 

उहाँले संघीय निजामती ऐन र संघीय प्रहरी ऐन पारित गर्ने क्रममा अवरोध गरेको भन्दै आईजीपीको आलोचना गर्ने क्रममा जिब्रो थुत्ने शब्द चयन गर्नुभएको थियो । उक्त अभिव्यक्तिपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आगामी दिनमा अपाच्य शब्द नबोल्न र सकेसम्म कम बोल्न निर्देशन दिनुभएको छ ।

टिप्पणीहरू