शीतल निवासमा तमाशा, सिडिओ कार्यालयको यो दुर्दशा
सरकारले तीजमा हुने तडकभडक र खर्चिला भोजहरुमा रोक लगाएको छ । काठमाडौंलगायत विभिन्न जिल्ला प्रशासन कार्यालयले यसबीचमा सूचना जारी गरेर त्यस्तो कार्यक्रम आयोजना गर्नेलाई कानुनबमोजिम कारबाही गरिने जानकारी गराएका छन् ।
आगामी शुक्रबारको तीजका लागि आज शीतल निवासमा भव्य दर कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व राष्ट्रपति,परराष्ट्रमन्त्रीदेखि राजनीतिक दलका नेतृ,उच्चपदस्थ कर्मचारी र आफन्तलाई बोलाएर आज राष्ट्रपति कार्यालयमा लाखौं रुपैयाँको भोज गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालयले गत बिहीबार जारी गरेको सूचनामा सामाजिक व्यवहार (सुधार) ऐन २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली २०३३ को हवाला दिँदै पर्व मनाउने नाममा अनावश्यक तडकभडक र फजुल खर्च नगर्न आग्रहपूर्ण अनुरोध गरिएको छ । तर, राज्यको सबैभन्दा उपल्लो तहले राज्यका जिम्मेवारहरुलाई भेला गराएर मुलुकको कानुनको बर्खिलाप गराउँदा सूचना जारी गर्ने निकाय बेकम्मा साबित भएको छ ।
यसअघि प्रधानमन्त्री पत्नी राधिका शाक्यले शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दर कार्यक्रम राख्नुभएको थियो । त्यहाँ पनि सयौंको सहभागिता थियो । सोही दिन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफ्नै निवास बूढानीलकण्ठमा राख्नुभएको भव्य दर कार्यक्रममा सयौं भेला भएका थिए । अघिल्लो साता एमाले पार्टी कार्यालय च्यासलमा त्यस्तै कार्यक्रम राखेर महिला नेता तथा कार्यकर्तालाई दर खुवाइएको थियो ।
टिप्पणीहरू