‘सत्य वचन परम ईश्वरीय दर्शन’ कार्यक्रममाथि बन्देज
चितवनको नारायणी कला मन्दिरमा सञ्चालन हुँदै आएको ‘सत्य वचन परम ईश्वरीय दर्शन’ कार्यक्रममाथि बन्देज लगाइएको छ।
उक्त कार्यक्रमले सार्वजनिक शान्ति व्यवस्थामा खलल पुर्याउने खतरा बढेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले रोक लगाएको हो । 'सत्य वचन परम ईश्वरीय दर्शन' नामक संस्थाले नारायणी मन्दिरमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।
तर, सो संस्थाले धर्मान्तरणका गतिविधि गरेको भन्दै विश्वहिन्दु युवा संघ तथा शिव सेना नेपालले केही दिनअघि मन्दिरमा तालाबन्दीसमेत गरेको थियो । मन्दिर व्यवस्थापन समितिले ताला फुटाएपछि संघले विज्ञप्ति जारी गर्दै क्रान्तिको आह्वान गरेको छ ।
त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सिडियो कार्यालयले सबै कार्यक्रम सञ्चालनमा रोक लगाएको हो ।
‘मिति २०८१-०५-१९ गते जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको जिल्ला सुरक्षा समितिको बैठकबाट सत्य वचन परम ईश्वरीय मार्ग दर्शन संस्थाले नारायणी कला मन्दिरमा आफ्ना कार्यक्रमहरु गरिरहँदा सार्वजनिक शान्ति व्यवस्थामा खलल पर्ने तथा सार्वजनिक सम्पत्तिको तोडफोड हुनसक्ने स्थितिको आँकलन गरी त्यस मन्दिरमा सत्य वचन परम ईश्वरीय मार्ग दर्शनका कार्यक्रम सञ्चालन गर्न हाललाई रोक लगाउने निर्णय गरेको हुँदा अर्को सूचना जारी नभएसम्मका लागि सो संस्थालाई मन्दिरमा आफ्ना कार्यक्रमहरु नगर्न सूचित गरिन्छ,’ प्रशासन कार्यालयको आदेश छ ।
टिप्पणीहरू