सामाजिक सञ्जालमा सन्किनेहरू सकिँदै छन्
पछिल्लो समय फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, टिकटक, भाइबर, ट्वीटर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जाल प्रयोगमा छन् । यी सबै नयाँ सञ्चारकै उपज हुन् । अर्बौं प्रयोगकर्ता छन् ।
नेपालमा सबैभन्दा बढी फेसबुक चलाइन्छ । पढेलेखेकाहरूले त सामाजिक सञ्जाल चलाउँछन् नै, अक्षर नचिनेकाहरू पनि कुनै न कुनै सामाजिक सञ्जालसँग जोडिएका छन् । सञ्जाल ज्ञानको भण्डार हो । यसका अनगिन्ती फाइदा छन् । पीडा पोख्ने र खुशीयाली बाँड्ने ठाउँ हो, सामाजिक सञ्जाल । कलाकारहरूलाई यसले एउटा मञ्च दिएको छ । आफ्नो कला सामाजिक सञ्जालमार्फत प्रदर्शन गर्न सकिन्छ ।
भावना पोख्ने ठाउँ पनि सामाजिक सञ्जाल नै हो । कसैले आफ्नो विचार, भनाइ यसमार्फत व्यक्त गर्न सक्छन् । कहिल्यै नाम नसुनिएका व्यक्तिहरू सामाजिक सञ्जालमार्फत उदाएका छन् । तर, सदुपयोग गर्न नजान्दा तिनै व्यक्ति पछारिएका उदाहरण पनि छन् । मतदातालाई सामाजिक सञ्जालमार्फत प्रभाव पार्न सक्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले चुनाव जितेकै छन् ।
एकाएक राजनीतिमा आएका उनले चुनाव जित्लान् भनेर आंकलन पनि गरिएको थिएन । अहिले पनि उनले त्यसै गरिरहेका छन् । उनी सार्वजनिक ठाउँमा उभिएर तर्क दिनुभन्दा सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया राख्नमा बढी विश्वास गर्छन् । किनकि सामाजिक सञ्जालका आफ्ना ‘फ्यान’ हरूले समर्थन गर्छन् भन्ने उनलाई राम्रोसँग थाहा छ । सामाजिक सञ्जाल देश–विदेश जहाँ बसेर पनि चलाउन मिल्छ । त्यहाँबाट कुरा राखेमा छिटो सबैमा पुग्छ भन्ने बुझेका बालेन र हर्क साम्पाङले सामाजिक सञ्जाललाई प्रयोगकर्ताको मनोविज्ञानअनुरूप चलाइरहेका छन् ।
जनसंख्याको ठूलो हिस्सा योसँग जोडिएको छ । कसले के गरिरहेको छ ? के भनिरहेको छ ? प्रयोगकर्ताहरूले नियालिरहेका हुन्छन् । सामाजिक सञ्जालमार्फत अरुलाई खुइल्याउन कुनै कसर बाँकी नराख्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि हुन् ।केही समय अघिसम्म उनको ‘क्रेज’ एकदमै धेरै थियो । प्रायःजसोले गुणगान गाइरहेका हुन्थें । आफ्नो फेसबुकमा केही लेख्नेबित्तिकै लाइक र कमेण्टको ओइरो लाग्थ्यो । यसैका आडमा कानुनविपरीत कतिपय का पनि गर्न भ्याए । उनले के भन्न खोजेको हो ? बुझ्दैनबुझी ‘फलोअर्स’ हरू वाहवाह गर्न थाल्थे । टेलिभिजनमा अन्यमाथि हिलो छ्यापेर फ्यान र फलोअर्स कमाएका उनको वास्तविकता खुल्दै गएपछि गाली गर्नेको लर्को लागेको छ ।
‘समयले बारम्बार मौका दिँदैन ।’ सामाजिक सञ्जाल पनि त्यस्तै हो । जसले एकपटक चर्चामा ल्याउँछ । त्यसको सदुपयोग गर्न सके मान्छे उचाइमा पुग्छ । नत्र उठ्नै नसक्नेगरी गिराइदिन्छ ।
गृहजस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका उनले कुनै पनि निर्णय कार्यान्वयन गर्नुअगाडि कानुन बनाउनुपर्छ भन्ने कुराको ख्यालै गरेनन् । जसका कारण विवादमा तानिए । ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयंसेवक खटाउने निर्णयमा सर्वोच्च अदालतले अंकुश लगाउनुपरेको थियो । त्यस्तै, महिनावारी हुँदा महिला ट्राफिकलाई चार दिनसम्म बिदा दिने निर्णय पनि गर्न भ्याए । रोचक प्रसंग त के भने सधैँ उनको पक्षमा उभिने सामाजिक सञ्जालका भक्तहरू अब भने विरोधमा उत्रन थाले ।
एकताका यस्तो पनि थियो कि, कसैले रविको विरोधमा बोले वा केही लेखे समर्थकहरू खनिहाल्थें । ‘तँ–तँ र म–म’ गर्दै फेसबुकबाटै खाउँलाझैँ गर्थे । विरोध सुन्नै नसक्ने समर्थकहरू अहिले रविकै पछाडि हात धोएर लागिपरेका देखिन्छन् । पछिल्लो समय रवि सामाजिक सञ्जालमा ‘पानीपानी’ भएको देखिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि कुनै समय सामाजिक सञ्जालमा त्यस्तै प्रभुत्व थियो । तर, पछिल्लो समय सामाजिक सञ्जालमा सुस्ताएका छन् । प्रदीप भट्टराई र गुरु भट्टराई यस्तै नमुना पात्र हुन् ।
भनिन्छ नि, ‘समयले बारम्बार मौका दिँदैन ।’ सामाजिक सञ्जाल पनि त्यस्तै हो । जसले एकपटक चर्चामा ल्याउँछ । त्यसको सदुपयोग गर्न सके मान्छे उचाइमा पुग्छ । नत्र उठ्नै नसक्नेगरी गिराइदिन्छ ।
खुइँलिँदै ‘सामाजिक अभियन्ता’
सामाजिक सञ्जालले धेरैलाई ‘अभियन्ता’ बनाइदियो । समाजमा कुनै योगदान नै नगरिकन दुई शब्द लेखेर र बोलेर दर्जनौं त्यस्ता पात्र ‘सामाजिक अभियन्ता’ कहलाइए । जुन क्षेत्रबारे ज्ञान नै छैन, त्यही क्षेत्रको अभियन्ता भइदिए । यता युट्युबरहरूले पनि भ्युजका लागि त्यस्तैलाई ठाउँ दिने । जस्तो प्रश्न सोध्यो, त्यस्तै जवाफ दिन्थे । आफूले बोलेका कुराले समाजमा के प्रभाव पार्छ ? सोच्दै नसोचीकन मकैझैं पड्किने । चर्चामा आउनका लागि सामाजिक सञ्जालमा जथाभावी पोखिँदा कतिपय त जेल पनि पुगेका छन् ।शर्मिला वाइबा, तारा बराल, ज्वाला संग्रौला, सावित्री सुवेदी (जय नारी), मुकुन्द सिलवाल, भीम उपाध्याय, डिल्लीराम खनाल (भाइरलम्यान), पुण्य गौतम सामाजिक सञ्जालबाटै उदाएका हुन् । शुरुशुरुमा पीडितको पक्षमा आवाज उठाएर लाखौं प्रशंसक बटुलेका उनीहरू पछि उग्र बन्न थाले । अभियन्ताका नाममा समाजमा नकारात्मकता फैलाए । बिना प्रमाण अरुमाथि दोष लगाउने, पीडितको नाममा पैसा बटुल्नेसम्मका काम भए ।
महिला अभियन्ता भनिनेहरू महिलाकै विषयमा मनलाग्दी अभिव्यक्ति दिन्थें । यता, उनीहरूलाई ‘डिफेण्ड’ गर्न सामाजिक सञ्जालमा झुण्ड नै तयार हुन्थ्यो । ‘झुठको खेती धेरै बेर टिक्दैन’ भनेझैं सामाजिक सञ्जालबाट रवाफ जमाउनेहरूको पोल खुल्दै गयो । समर्थकहरूले समेत विरोध जनाउन थाले ।
अन्धविश्वासी बन्नु हुँदैनः साइबर ब्यूरो
नेपाल प्रहरीको साइबर ब्यूरोका सूचना अधिकारी दीपकराज अवस्थी सामाजिक सञ्जाल प्रयोगकर्ता अन्धविश्वासी बन्न नहुने बताउँछन् । उनीहरूले उठाएका सन्दर्भ, बोलेका, लेखेका विषयहरूमा सामाजिक सञ्जाल प्रयोगकर्ताले गहन अध्ययन गर्नुपर्ने उनको भनाइ छ ।
‘कसैसँग बोल्ने क्षमता हुन्छ, कसैसँग लेख्ने । उनीहरूले बोलेका, लेखेका कुरा कत्तिको सही छ ? तार्किक छ ? तथ्यपूर्ण छ ? छुट्याउने काम सामाजिक सञ्जाल प्रयोगकर्ताको हो । कसैमाथि अन्धविश्वास गरिहाल्नु ठीक होइन । उसको आइडेन्टिटी हेर्नुपर्छ । उसले केही गलत भनिरहेको छ र हामी विश्वास गरिरहेका छौं भने त्यो अन्धभक्त बन्नु हो । सामाजिक सञ्जाल प्रयोगकर्ता धेरै सतर्क हुनुपर्छ’, उनले भने । त्यस्तै, उनले साइबर अपराधसम्बन्धी घटना अचेल घटेको पनि बताए । अघिल्ला वर्षका तुलनामा अहिले चरित्रहत्या, गाली बेइज्जतीसम्बन्धी घटनामा कमी आएको जानकारी दिए ।
नियन्त्रण गर्न मिल्दैन, नियमन गर्ने क्षमता राज्यसँग छैन
अधिवक्ता ओमप्रकाश अर्याल कसैको वाक स्वतन्त्रता नियन्त्रण गर्न नमिल्ने बताउँछन् । उनको भनाइमा सामाजिक सञ्जाल प्रयोगकर्तामाथि राज्यले नियन्त्रण गर्न मिल्दैन र नियमन गर्ने क्षमता पनि छैन । यसले मुलुकलाई अपराधउन्मुख बनाइरहेको उनको जिकिर छ ।
‘बोल्न पाउनु मानिसको मौलिक हक हो । उसको सो हकमाथि राज्यले नियन्त्रण गर्न मिल्दैन । उसले बोलेका कुराले कस्तो प्रभाव पार्छ ? यसमा चाँहि राज्यको ध्यान केन्द्रित हुनुपर्छ । पछिल्लो समय सामाजिक सञ्जालको दुरूपयोग बढेको छ । यसले अपराधिक भाष्य स्थापित गरिरहेको छ । कानुन छ तर प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेकाले यो अवस्था आएको हो’, उनले भने ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू