उमेर र पदावधिका कारण ट्राफिकमा लगातार हाकिमको अवकाश

उमेर र पदावधिका कारण ट्राफिकमा लगातार हाकिमको अवकाश
सुन्नुहोस्

नेपाल प्रहरीका नायव महानिरीक्षक (डिआईजी) भरतबहादुर बोहराले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुखको पदभार ग्रहण गरेका छन् । रामशाहपथस्थित कार्यालय पुगेर उनले पदभार ग्रहण गरेको बताइएको छ ।

पदभार ग्रहणपछि प्रमुख बोहराले थप सक्रियतापूर्वक काम गर्न ट्राफिक कर्मचारीहरुलाई निर्देशन दिएका छन् । ट्राफिक प्रहरीले गर्दै आएका काम कारबाहीलाई निरन्तरता दिँदै आगामी दिनमा थप ऊर्जाका साथ त्रुटिरहित तवरले सडक प्रयोगकर्ताको मनोभावना बुझेर काम गर्नुपर्ने बताइएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा झण्डै दुई महिनादेखि नेतृत्व रिक्त थियो । अहिले कार्यालय प्रमुखमा डिआईजी रहने व्यवस्था छ । गत असार २१ गतेसम्म ट्राफिक प्रमुख डिआईजी पोषराज पोखरेल थिए । 

५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि निमित्त प्रमुखको रुपमा एसएसपी जीवनकुमार श्रेष्ठ थिए । उनी पनि आइतबारदेखि ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका हुन् । 

त्यसपछि उपत्यका ट्राफिक प्रहरी कार्यालयको निमित्त प्रमुखको जिम्मेवारी एसपी विश्वराज खड्काले पाएका थिए । सोमबार प्रहरी हेडक्वार्टरले डिआईजी बोहराको काज सरुवा गर्दै ट्राफिकमा पठाएको हो ।

 

टिप्पणीहरू