डाक्टरहरुको परीक्षामा गोलमाल : जाँच दिने एउटा, नम्बर पाउने अर्कै
चिकित्सा शिक्षा आयोगले एमबीबीएस र पारामेडिकलको प्रवेश परीक्षाको नतिजा सच्याउने भएको छ । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रुटिपूर्ण नतिजा सच्याउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।
परीक्षा भदौ १ देखि ५ गतेसम्म चलेको थियो । तर एउटा विद्यार्थीको रोल नम्बर र प्राप्ताङ्क अर्कै विद्यार्थीको नाममा प्रकाशित भएको पाइएपछि विद्यार्थीहरु आन्दोलनमा छन् ।
शिक्षा समितिले आज त्रुटिपूर्ण नतिजा छानबिन गरेर १० दिनभित्र प्रतिवेदन बुझाउन पनि मन्त्रालयलाई निर्देशन दिएको छ । चिकित्सा आयोगमाथि विद्यार्थीहरुको विश्वास कायमै रहने गरी नतिजा सच्याउन निर्देशन दिइएको समितिका सभापति अमरबहादुर थापाले जानकारी दिए ।
उनले भनेका छन्, ‘नतिजा प्रकाशनमा देखिएको कमजोरी के कारणले भएको हो ? सो सम्बन्धमा १० दिनभित्र छानबिन गरी प्रतिवेदन समितिसमक्ष पेस गर्न र सम्बन्धित विद्यार्थीहरूको विश्वास जित्नेगरी आवश्यक सुधार गर्न यो समिति निर्देशन गर्दछ ।’
त्यस्तै, विद्यालय शिक्षा विधेयक–२०८० लाई थप व्यवस्थित गर्न उपसमिति गठन हुने भएको छ । सभापति थापाले असल शिक्षाको लागि समिति र सरकारको धारणा तय गरेर थप व्यवस्थितका लागि उपसमिति वा समन्वय समिति गठन गरिने जानकारी गराए ।
टिप्पणीहरू