तीजलाई मर्यादित बनाउन सिडिओले तोके पशुपतिमा चार किल्ला

तीजलाई मर्यादित बनाउन सिडिओले तोके पशुपतिमा चार किल्ला
सुन्नुहोस्

पशुपति मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थको बेचबिखन र सेवनमा रोक लगाइएको छ । हिन्दु नारीहरुको महान चाड हरितालिका (तीज) पर्वलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पशुपति क्षेत्रभित्र पवित्रता कायम राख्न चार किल्ला तोकेर ती वस्तुको किनबेच र सेवनमा रोक लगाएको हो । 

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार भोलिदेखि शनिबारसम्मका लागि गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सीमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहेश्वरीदेखि दक्षिण भित्रका सबै भागमा यस्ता वस्तु निषेध गरिएको बताएका छन् । 

‘हरितालिका तीज पर्वलाई मर्यादित, व्यवस्थित र सुरक्षित रुपमा सम्पन्न गर्न भगवान पशुपतिनाथ विराजित पावन पाशुपात क्षेत्रभित्रको सुरक्षालगायत धार्मिक एवम् सांस्कृतिक मर्यादा तथा पवित्रता कायम राख्न मिति २०८१÷०५÷२० गतेदेखि ऐ.२२ गतेसम्मका लागि देहायका चार किल्लाभित्र कसैले पनि मासु, मदिरा तथा नशालु पदार्थहरु उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम पूर्ण रुपमा रोक लगाइएको छ,’ सूचनामा उल्लेख छ ।

सूचनाको उल्लंघन गरेमा प्रचलित कानूनबमोजिम कारबाही गर्ने सिडियो कार्यालयको चेतावनी छ ।
 

टिप्पणीहरू