धुलिखेल–खावा सडकखण्डमा मालवाहक सवारीमाथि रोक
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्डमा दुई दिन मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । सडक डिभिजन, भक्तपुरले भोलि र पर्सि ट्रिपरलगायत मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाएको जनाएको छ ।
उक्त सडकखण्डमा मालवाहक सवारी साधन पूर्ण रुपमा निषेधगरी मर्मत गर्न लागिएको छ । ‘यस कार्यालयअन्तर्गत निर्माणाधीन धुलिखेल–खावा सडक अत्यन्तै जीर्ण भई यातायात सञ्चालनमा कठिनाई उत्पन्न हुन गएकोले सडक मर्मत सम्भार गरी सुचारु रुपमा सञ्चालन गर्न मिति २०८१ भदौ २० र २१ गते दुई दिनको लागि मालवाहक सवारी साधन सञ्चालन बन्द गरी सडक निर्माणमा सहयोग गरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध गर्दछौं’, सडक डिभिजनले जारी गरेको सूचनामा उल्लेख छ ।
२०७९ जेठ २० गते धुलिखेलदेखि खावासम्म चार किलोमिटर सडक बिस्तारको निम्ति गौरी पार्वती निर्माण सेवा प्रालिसँग सम्झौता गरिएको थियो । निर्माण कम्पनीले काममा ढिलासुस्ती गरेपछि जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतम आमरण अनशन बसेका थिए ।
टिप्पणीहरू