निर्वाचनमा गुटबन्दी नगर्न इतर समूहको चेतावनी
नेपाल प्रेस युनियनको संस्थापनइतर समूहले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा अवसरहरुको न्यायोचित वितरण हुनुपर्ने निष्कर्ष निकालेको छ । प्रेस युनियनका पूर्वकोषाध्यक्ष सरोज अधिकारीको नेतृत्वमा बसेको संस्थापनइतर समूहको भेलाले पत्रकार महासंको आसन्न निर्वाचनमा अवसरहरुको न्यायोचित वितरण हुनुपर्ने ठहर गरेको छ ।
भेलाले सामुदायिक रेडियो प्रसारक संघ (अकोराब), ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) लगायत संस्थाहरुको निर्वाचनमा पनि योग्यता र क्षमताका आधारमा युनियनका तर्फबाट उम्मेदवार बनाउनुपर्ने निष्कर्ष निकालेको छ । भेलालाई सम्बोधन गर्दै अधिकारीले युनियनको नेतृत्वलाई हेटौंडामा सम्पन्न महाधिवेशनमा मत हालेको र नहालेको विषय बनाएर राजनीतिक सौदाबाजी नगर्न पनि सचेत गराए ।
‘नेपाल प्रेस युनियनले विवेकपूर्ण निर्णय गर्नेछ भन्ने विश्वास हामीलाई छ,’ अधिकारीले भने, ‘हेटौंडा महाधिवेशनको ह्याङ राखेर प्रेस युनियनका साथीहरुमाथि अन्याय गरिए स्वीकार्न सकिँदैन ।’ श्रमजीवी पत्रकारहरूलाई बाहिर राखेर पत्रकार महासंघको सदस्यता सार्वजनिक गरिए निर्वाचनमा जान नसकिने समेत अधिकारीले बताए ।
भेलामा सहभागीहरूले महासंघको सदस्यमा पत्रकारहरु छुट्न नहुने, महासंघमा गुटको आधारमा प्रेस युनियनको नेतृत्वले अन्याय गर्न नहुने, अवसरको समान वितरण गरिनुपर्ने, पत्रकारले भोगिरहेका समस्या समाधानमा युनियनले भूमिका खेल्नुपर्ने लगायतका विषयहरू उठाएका थिए ।
भेलामा प्रेस युनियनका पूर्वअध्यक्ष समीरजंग शाह, पूर्वउपाध्यक्ष ईश्वरी ओझा, बानका महासचिव नवीन राईलगायत सयभन्दा बढी प्रेस युनियनकर्मीहरूको सहभागिता थियो ।
टिप्पणीहरू