साताअघि नै सेनापतिद्वारा झण्डा र छडी हस्तान्तरण

साताअघि नै सेनापतिद्वारा झण्डा र छडी हस्तान्तरण
सुन्नुहोस्

आगामी सोमबारदेखि अवकाशमा जान लागेका प्रधानसेनापति प्रभुराम शर्माको हिजो औपचारिक बिदाई गरिएको छ । ४२ वर्ष लामो सैनिक सेवापछि शर्मालाई हिजो सैनिक मुख्यालयमा आयोजित विशेष समारोहमा बिदाई गरिएको छ । 

प्रधानसेनापति शर्मा भदौ २४ गतेदेखि अनिवार्य अवकाशमा जाँदैछन् । यसअघि कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी अशोकराज सिग्देललाई एक महिनाअघि दिइएको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिले उनलाई शर्माको अवकाशपछि लागु हुनेगरी प्रधान सेनापतिमा नियुक्त गरिसक्नुभएको छ ।

कार्यक्रममा प्रधानसेनापति शर्माले सेनालाई र नेपाली सेनाको तर्फबाट प्रधानसेनापतिलाई कामु प्रधानसेनापति सिग्देलले सम्झनास्वरूप उपहार प्रदान गरिएको थियो । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल,नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले पनि शर्मालाई उपहार प्रदान गरेको बुझिएको छ । हिजै साँझ सैनिक श्रीमती संघकी अध्यक्ष तथा कायममुकायम अध्यक्षहरुबीच पनि उपहार आदानप्रदान गरिएको छ । 

कार्यक्रममा रक्षा सचिव रामेश्वर दंगाल,पूर्व प्रधानसेनापतिहरू,पूर्व रक्षा सचिवहरू, बहालरत तथा अवकाशप्राप्त जर्नेलहरु, रक्षा मन्त्रालयका पदाधिकारीलगायतको उपस्थिति थियो ।  

त्यसअघि प्रधान सेनापति शर्माले कामु प्रधानसेनापति सिग्देललाई नेपाली सेना र प्रधानसेनापतिको झण्डा तथा छडी हस्तान्तरण गरेका थिए । शर्मालाई एक टुकडीले सम्मान गारद अर्पण गरिएको सेनाले जनाएको छ ।

टिप्पणीहरू