काठमाडौँका सात वटा सहकारीमाथि कारबाही थाल्न पत्राचार

काठमाडौँका सात वटा सहकारीमाथि कारबाही थाल्न पत्राचार
सुन्नुहोस्

काठमाडौँमा संचालित सातवटा सहकारी संस्थामाथि कारबाही प्रक्रिया अघि बढाउन काठमाडौं महानगरपालिकाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई पत्राचार गरेको छ । 

महानगरले गत चैत १६ गतेदेखि असार ७ गतेसम्म महानगर क्षेत्रभित्रका ४० वटा सहकारी संस्थाको अनुगमन गरेको थियो । सो क्रममा सात वटा सहकारीको बचत संकलन, संकलित रकम परिचालन, ऋण प्रवाह तथा लगानीका विषयमा थप अनुसन्धान गर्नुपर्ने भएकाले सीआईबीलाई पत्र पठाएको महानगरले जनाएको छ । 

महानगरका अनुसार सुमेरु बचत तथा ऋण सहकारी संस्था, स्क्वायर बचत तथा ऋण सहकारी संस्था, रुरल डिभपलमेन्ट बचत तथा ऋण सहकारी संस्था, सत्कार बचत तथा ऋण सहकारी संस्था, महाबौद्ध बचत तथा ऋण सहकारी संस्था, नमो हारती बचत तथा ऋण सहकारी संस्था र आधारभूत बहुउद्देश्यीय सहकारी संस्थामाथि थप अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढाउन पत्राचार गरिएको छ । 

महानगरका सहकारी विभाग प्रमुख ध्रुवकुमार काफ्लेले हाल सञ्चालनमा रहेका सहकारीमा पनि स्वनियमको पालना, लोकतान्त्रिक नियन्त्रण प्रणाली, एकाधिकार, लगानीका क्षेत्र र सिद्धान्तको अनुसरणजस्ता पक्षमा कमजोरी देखिएको बताए । 

सहकारीले उद्देश्यविपरीत लगानी गरेको, क्षेत्राधिकार बाहिरको बचत तथा लगानी स्वीकार गर्नुका साथै सदस्यभन्दा बाहिरको लगानी, एकाघर लगानी वा एक व्यक्ति नियम विपरीत सञ्चालक भएको र लगानी लेनदेन गरेको अनुगमनको क्रममा पाइएको उनको भनाइ छ । 

महानगरका अनुसार अनुगमन गरिएकामध्ये एउटाको कार्यक्षेत्र प्रदेश देखिएकोले सक्कल फाइल प्रदेश सरकारलाई पठाइएको छ । अनुगमनबाट प्राप्त प्रतिवेदनका आधारमा महानगरले ३२ वटा सहकारी संस्थालाई स्पष्टीकरण समेत सोधेकोमा सबैले सफाइ पेश गरेको जनाइएको छ । स्पष्टीकरणको अध्ययन गरेर कारबाहीको विषयमा निर्णय लिने महानगरले जनाएको छ ।

 

टिप्पणीहरू