बन्चरेडाँडाको फोहोरमा यतैबाट निगरानी

बन्चरेडाँडाको फोहोरमा यतैबाट निगरानी
सुन्नुहोस्

काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन हुँदै आएको बञ्चरेडाँडा ल्याण्डफिल साइटको काठमाडौँ प्लाजाबाटै निगरानी गर्न थालिएको छ । 

काठमाडौं महानगरपालिकाले साइटमा प्रवेश गर्ने सवारीसाधन तथा व्यक्तिको गतिविधिमाथि नियमन गरी अनधिकृत कार्य रोक्न ‘सीसीटिभी क्यामरा' बाट निगरानी शुरु गरेको हो । 

अहिले उपत्यकाको फोहोरमैला सेनेटरी ल्याण्डफिल साइटमा व्यवस्थापन हुँदै आएको छ । उक्त साइट नुवाकोट र धादिङको सीमाना बञ्चरेडाँडामा पर्छ । महानगरले संस्थागत सुधारको कार्यक्रममध्ये कार्य सञ्चालन हुने ठाउँका विषयमा जानकारी तथा सूचना लिन सीसीटिभी क्यामरा जडान गरेको बताएको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, ‘स्वचालित प्रणाली बढाएर संस्थागत सुदृढीकरण गर्ने क्रममा ल्याण्डफिल साइटमा अत्याधुनिक सीसीटिभी क्यामरा जडान गरिएको हो ।’ क्यामराका दृश्यहरु प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट निगरानी हुने महानगरको भनाइ छ । 

योसँगै महानगरको वातावरण व्यवस्थापन विभागमा पनि दृश्य हेर्न सकिने छ । महानगरका अनुसार साइट व्यवस्थापनको काममा खटिएका जनशक्ति, कार्यालय, साइटमा पुग्ने सडक, सुरक्षा वुथ देखिने गरी क्यामरा राखिएका छन् । वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले नौं वटा क्यामराबाट साइटको निगरानी हुने जानकारी गराइन् । 

महानगरले जडान गरेको क्यामरा अटोमेटिक नम्बर प्लेट रिकोग्रिजेसन (एएनपिआर) क्यामरा हुन् । यसबाट भिडियोको आवाज पनि सुन्न सकिने  जनाइएको छ । यसले डिजिटल मात्र नभई हातैले लेखेका नम्बर प्लेट पनि पढ्न सक्ने तथा नेपाली अक्षरबाट लेखिएको नम्बर प्लेट पनि पढ्न र रेकर्ड राख्न सक्ने महानगरले बताएको छ ।

टिप्पणीहरू