मन्त्री उर्मिलासङ्ग रिसाएपछि...
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको अमेरिका भ्रमण अन्तिम समयमा रद्द गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मन्त्रीस्तरीय निर्णय गर्दै उनको भ्रमण रद्द गरेका हुन् ।
अमेरिकाको एटलान्टा,जर्जियामा सेप्टेम्बर ९ देखि १३ सम्म हुन लागेको ‘पब्लिक फाइनेन्सियल म्यानेजमेण्ट एण्ड फिस्कल डिसेन्ट्रलाइजेशन’ विषयक ‘ट्रेनिङ भिजिट’ कार्यक्रममा सहभागिता जनाउन मन्त्रालयको गत साउन ६ गतेको निर्णयानुसार उनलाई मनोनयन गरिएको थियो । तर,भदौ १८ गतेको मन्त्रीस्तरीय बैठकले उनको भ्रमण रद्द गरेको छ ।
यु.एस.एड.लाई पठाइएको पत्रमा भनिएको छ,‘प्रस्तुत विषयमा १७ जुलाई, २०२४ को यु.एस.एड. को पत्रानुसार आगामी सेप्टेम्बर ९ देखि १३ सम्म संयुक्त राज्य अमेरिकाको एटलान्टामा हुन गइरहेको पब्लिक फाइनेन्सियल म्यानेजमेण्ट एण्ड फिस्कल डिसेन्ट्रलाइनेशन विषयमा एक्सपेरिएन्टल लर्निङ–ट्रेनिङ भिजिट कार्यक्रममा यस मन्त्रालयको मिति २०८१–४–६ को निर्णयानुसार मनोनयन हुनुभएका जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री उर्मिला काफ्लेको मनोनयन यस मन्त्रालयको मिति २०८१–०५–१८ गतेको (मन्त्रीस्तर) निर्णयानुसार रद्द गरिएको व्यहोरा अनुरोध छ ।’
वडाध्यक्षहरुले घेरेर उहाँलाई हट्नु भनेका थिए । उहाँले पनि वडाध्यक्षहरुलाई राजीनामा दिन भन्नुभएको हो ।
अमेरिका जान काठमाडौं आइसकेकी उनी भ्रमण रद्द भएपछि अलपत्र परेकी छन् । यता, मन्त्रालयका सूचना अधिकारी अश्विनकुमार पोखरेलले भ्रमण रद्दको कारणबारे जानकारी नभएको बताए । ‘मैले पनि मिडियाबाटै थाहा पाएँ । के कारणले भ्रमण रद्द गरियो, जानकारी भएन’,उनले भने ।
त्यसैगरी प्रवक्ता कालीप्रसाद पराजुलीले भ्रमण रद्द भएको मात्र थाहा पाएको बताए । भन्छन्,‘भ्रमण किन रद्द गरियो ? यसबारे मलाई पनि जानकारी छैन ।’ उपमहानगरका प्रवक्ता भोजबहादुर खत्री (ईश्वर) ले राजनीतिक किचलोका कारण भ्रमण रद्द भएको हुन सक्ने बताए । नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरुले दबाब दिएकाले मन्त्रीले भ्रमण रद्द गरेको उनको ठहर छ ।
उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत काफ्ले र वडाध्यक्षहरुबीच सम्बन्ध खासै राम्रो छैन । केही समयअगाडि उनीहरुबीच भनाभन पनि भएको प्रवक्ता खत्री बताउँछन् । ‘उपमहानगरको लफडाले गर्दाखेरि भ्रमण रद्द भएको हुनसक्छ । नगर सभादेखि नै लफडा छ । केही समयअगाडि मात्र प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षहरुबीच विवाद भएको थियो । वडाध्यक्षहरुले घेरेर उहाँलाई हट्नु भनेका थिए । उहाँले पनि वडाध्यक्षहरुलाई राजीनामा दिन भन्नुभएको हो । एमाले वडाध्यक्षहरुको दबाबमा उहाँको भ्रमण रोकिएको हुन सक्छ’,उनले भने ।
काफ्ले अमेरिका जानका लागि काठमाडौं आइसकेको उनले जानकारी दिए । मन्त्रीले काफ्लेलाई छलफलमा बोलाएको जानकारी पाएको पनि उनले बताए । उनी भन्छन्,‘भीसा आएर उहाँ काठमाडौं पनि जानु भइसकेको थियो । अन्तिममा भ्रमण रोकियो । उपमहानगरको विषयलाई लिएर भ्रमण रद्द गर्नु कूटनीतिक हिसाबले पनि ठीक होइन् । मन्त्रीज्यूले उहाँलाई छलफलमा बोलाउनुभएको जानकारी पाएको छु ।’
यसविषयमा जानकारी लिन काफ्लेलाई पटकपटक फोन गर्दापनि उनीसँग सम्पर्क हुन सकेन् ।
टिप्पणीहरू