श्रमिकसँगको सम्बन्धमा सुधार भएको व्यवसायीहरुको ठहर
नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड युनियनले श्रमसम्बन्धी समस्या समाधान गर्न फोरम स्थापना गरिने भएको छ । काठमाडौँको टेकूस्थित महासंघको सचिवालयमा सम्पन्न बैठकले फोरम स्थापनाको निर्णय गरेको छ ।
बैठकमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय मुलुकमा रोजगारदाता र श्रमिकबीचको सम्बन्धमा सुधार हुँदै गएको बताए । भविष्यमा आउनसक्ने कुनै पनि चुनौतिको समाना गर्न तथा रोजगारदाता र श्रमिकबीच सहकार्य र समन्वयमा फोरमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए ।
त्यस्तै, संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुँवरले गत मंसिरमा भएको समझदारी पत्रको समीक्षा गर्नुपर्ने बताए । उनले आगामी दिनमा आउनसक्ने चुनौतिको दुईपक्षीय रुपमा न्यूनीकरणका उपायहरु पहिचान गर्दै अघि बढ्न, सामाजिक सुरक्षा कोषलाई थप सक्रिय बनाउन र यसका लागि श्रमिक र रोजगारदाता दुवै पक्षको भूमिकालाई बढाउन जरुरी रहेको औँल्याए ।
बैठकमा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले उद्योग पनि बचाउने र श्रम बजारलाई थप व्यवस्थित गर्दै अगाडि बढ्ने दृष्टिकोण स्थापित गर्न आवश्यक रहेको बताए । उनले द्विपक्षीय समझदारी गरिएको विषयलाई सम्झिँदै समझदारी पत्रमा उल्लेख कार्यक्रमलाई कार्यसमिति निर्माण गरी अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
महासंघका उपाध्यक्ष एवम् रोजगारदाता परिषद्का सभापति ज्योत्सना श्रेष्ठले गत मंसिरमा भएको समझदारीलाई छिट्टै कार्यान्वयन गर्नुपर्ने र दुवै पक्षको सहमतिमा क्षेत्रगत, उत्पादकत्वलगायतका आधारमा न्यूनतम पारिश्रमिक निक्र्यौल गर्नुपर्ने विषयमा बैठक राख्नुपर्ने सुझाव दिइन् ।
बैठकमा दुईपक्षीय रुपमा समाधान हुनसक्ने कुनै पनि समस्या सरकारमा जानुभन्दा अगाडि दुई पक्षबीच छलफल हुनुका साथै अन्तर्राष्ट्रिय अभिसन्धिहरु पारित गर्ने सम्बन्धमासमेत छलफल भएको थियो ।
टिप्पणीहरू