पशुपतिमा तीजको सम्पूर्ण तयारी पूरा, सुरक्षा व्यवस्थापन कडा
हिन्दू नारीहरुको महान् चाड हरितालिका तीज भोलिदेखि शुरु हुँदैछ । भाद्रशुक्ल पक्ष तृतीयाका दिन मनाइने यस पर्वमा विशेषगरी शिवको पूजाआरधाना गरिन्छ । यो पर्वमा महिलाहरु आफ्नो परिवार र श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बस्छन् ।
तीजमा महिलाहरु निर्जल, निराहार उपवास बस्ने गर्दछन् । मुलुकभरका शिवालयहरुमा व्रतालु महिलाहरुको भीड लाग्ने गरेको छ । भोलि बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लाग्छ । मन्दिरमा खुट्टा टेकिनसक्नु हुन्छ । भीडलाई मध्यनजर गर्दै व्यवस्थापकीय तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
भोलि बिहान ३ बजे नै मन्दिरको सम्पूर्ण ढोका खोलिने छ । श्रीयन्त्र पूजा र महाभोग (गोप्य पूजा) को बेलामा जाली राखेर बाहिरबाट दर्शन गर्न सक्ने व्यवस्था मिलाएको कोषले जानकारी दिएको छ । भगवान् पशुपतिनाथको चन्दन पश्चिम ढोकाबाहिर सानो सदावर्त सत्तलअगाडि साथै पञ्चदेवल, पूर्वदक्षिण, उमाकुण्ड–दक्षिणमूर्ति, तिलंगगा–वनकाली, गौशाला, जयबागेश्वरीमा वितरण गरिनेछ ।
पर्यटक प्रवेश शुल्क तिरेर टिकट लिएका तेस्रो मुलुकका पर्यटकलाई मात्र मेला क्षेत्रको अवलोकन गर्न दिइने कोषले जनाएको छ । भक्तजनहरुबाट गौदान, पूर्णपात्रोजस्ता ब्राह्मण प्रयोगगरी गरिने धार्मिक कार्यका लागि भुवेनश्वरी मन्दिरअगाडिको बरुणधारासँगैको क्षेत्र तोकिएको छ ।
चुस्तदुरुस्त सुरक्षा व्यवस्था
भीडमा हुने अपराधिक क्रियाकलाप रोक्न कोषले विशेष सुरक्षा व्यवस्था गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिने कोषले जानकारी दिएको छ । आवश्यकताअनुसार नेपाली सेनाबाट पनि सहयोग लिइने छ ।
कोषका अनुसार राष्ट्रिय अनुसन्धानका जनशक्ति पनि खटिनेछन् । उनीहरुलाई मेला लाग्ने स्थलमा खटाइने छ । पाकेटमारी र अनियमित क्रियाकलाप हुन नदिनका निम्ति सादा पोशाकमा प्रहरी परिचालन गरिनेछ ।
मूल शिविरसँगै सामुदायिक प्रहरीको सहयोगमा दर्शनार्थीहरुमा सूचना प्रवाह गर्न खोजखबर कक्ष सञ्चालन, सुरक्षाको प्रभावकारितालाई थप टेवा पुर्याउन मन्दिर प्राङ्गणसहित मेला क्षेत्रका विभिन्न स्थानमा सिसी क्यामेरा जडान गरिएको छ ।
दमकलसहित विपद् उद्दारका लागि सेना र सशस्त्र प्रहरीको टोली मेला क्षेत्रमा रहने व्यवस्था गरिएको छ । कोषले बहुमूल्य गरगहना लगाएर नआउन भक्तजनलाई आग्रह गरेको छ । स-साना बालबालिका साथमा नल्याउन पनि सूचित गराइएको छ ।
कोषका अनुसार संस्कृति संरक्षण महाशाखाले मन्दिरभित्र महिला स्वयंसेवक परिचालन गर्नेछ । पुरुष स्वयंसेवकहरुलाई मन्दिर प्राङ्गणभित्र पूर्ण रुपमा निषेध गरिएको छ । मन्दिर प्राङ्गणभित्र खटिने कसैले पनि छालाको जुत्ता चप्पल लगाउन पाउने छैन् । सवारी साधन पार्किङ्गका लागि निश्चित स्थान तोकिएको छ ।
तिलगंगा आँखा अस्पतालतर्फको खुला क्षेत्र, सिफल चौरको खाली स्थान, गुह्येश्वरी पारीको खाली स्थानमा दर्शनार्थीले सवारी पार्किङ्ग गर्न सक्नेछन् । कोषको कार्यालय परिसर–अमालकोट कचहरीको कार्यालयमा पर्वसँग सम्बन्धित निकायका कर्मचारीका निम्ति पार्किङ्गस्थल तोकिएको छ ।
टिप्पणीहरू