नेपाली विद्यार्थीलाई पाकिस्तानको सम्मान

नेपाली विद्यार्थीलाई पाकिस्तानको सम्मान

नेपालस्थित पाकिस्तानी राजदूतावासले पाकिस्तानका विभिन्न शैक्षिक संस्थाबाट स्नातक तह उत्तीर्ण नेपाली विद्यार्थीहरुलाई सम्मान गरेको छ । पाकिस्तानका शैक्षिक संस्थाबाट स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरुलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिँदै दूतावासले काठमाडौंमा ‘गेट टुगेदर’ कार्यक्रम गरिएको जनाएको छ । 

कार्यक्रमका प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रमा पाकिस्तानले गरेको सहयोगको प्रशंसा गर्नुभयो । नेपाल–पाकिस्तानको मैत्रीपूर्ण सम्बन्धको गहिराइ र न्यानोपनको स्मरण गर्दै उहाँले गुणस्तरीय शिक्षा प्रदान गरेकोमा पाकिस्तान सरकारलाई धन्यवाद दिनुभएको हो । 

पाकिस्तानबाट शैक्षिक योग्यता हासिल गरेका विद्यार्थीहरुले नेपालको प्रगतिमा योगदान पुर्याइरहेको उहाँले बताउनुभयो । त्यस्तै, उहाँले आगामी दिनमा पनि पाकिस्तानको निरन्तर सहयोग रहने अपेक्षा गर्नुभयो । 

नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले पाकिस्तानले दिएको शैक्षिक छात्रवृत्तिले दुई मुलुकका जनस्तरको सम्बन्धमा निकटता आएको धारणा राख्नुभयो । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो,‘नेपाली विद्यार्थीलाई पाकिस्तानले दिएको छात्रवृत्तिले दुई मुलुकको जनस्तरबीच सम्बन्ध गहिरो भएको छ । यो छात्रवृत्तिलाई आगामी वर्षमा पनि निरन्तर दिइनेछ ।’

राजदूत हाश्मीले छात्रवृत्ति पुरस्कार संख्या बढाउन विशेष पहल भइरहेको पनि जानकारी दिनुभयो । त्यसैगरी, उच्च शिक्षाका लागि पाकिस्तान जाने विद्यार्थीलाई सहजीकरण गर्ने प्रयासलाई निरन्तरता दिइरहेको उल्लेख गर्दै उहाँले प्रत्येक वर्ष चरणबद्ध रुपमा पाँच सिट संख्या थप्नेगरी प्रस्ताव गरिएको जनाउनुभयो । 

कार्यक्रममा पाकिस्तान प्राविधिक सहायता कार्यक्रमअन्तर्गत स्नातक गरेका एमबीबीएस, बीडिएस, फार्मेसी, बिएस इन्जिनियरिङलगायतका विद्यार्थीहरुको उपस्थिति थियो ।

टिप्पणीहरू