बम बिस्फोटमा बितेका र घायललाई सघाऊ सरकार
नेपाल बालमजदुर सरोकार केन्द्र (सिविन नेपाल) ले सकेट बम बिस्फोट हुँदा मृत्यु भएका दुई बालबालिकाको परिवारलाई क्षतिपूर्ति दिन र दुई बालकको उपचारको जिम्मा लिन सरकारको ध्यानाकर्षण गराएको छ ।
पाँचथरको फालेलुङ गाउँपालिका–५, डाँडागाऊँमा सशस्त्र द्वन्द्वमा प्रयोग भएको बम बिस्फोट हुँदा घाइते र मृत्यु भएका परिवारलाई सहयोग गर्न आग्रह गरिएको हो । सिविनका प्रवक्ता कुमार भट्टराईले विज्ञप्ति जारी गर्दै सरकारले घटनालाई हलुका रुपमा लिएको बताएका छन् । साथै,उनले घटनाको निष्पक्ष छानबिनको माग पनि गरेका छन् ।
‘यस घटनाले सशस्त्र द्वन्द्वका अवशेषहरुको खोजी नगरी त्यत्तिकै छाड्ने राज्यको गम्भीर त्रुटितर्फ सोझो संकेत गरेको छ । जसका कारण अवोध र निरपराध बालबालिकाले अकालमा ज्यान गुमाउनुपर्ने र अंगभंगको अवस्थामा पुग्नुपर्ने नियति पटकपटक खेप्नुपरेको छ । हामी यथाशीघ्र यस घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग जोडदार माग गर्दर्छौं’,विज्ञप्तिमा उल्लेख छ ।
गत भदौ १३ गते अपरान्ह ३ बजे ज्ञानबहादुर राईका १३ वर्षीय छोरा पवन,दिलिप राईका सात वर्षीय छोरा दिप्सन,दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन र दुई वर्षीया छोरी प्रिन्सा एकैठाउँमा खेलिरहेका थिए ।
सोही क्रममा स्थानीय आइतराज केरुङ्गको कच्ची घरमा लुकाएर राखिएको ‘होममेड सकेट बम’ विस्फोट भयो । घाइते बालबालिकालाई प्रहरी चौकी प्राङबुङले तत्कालै उद्धार गरेर उपचारका लागि स्थानीय स्वास्थ्य चौकी पुर्याएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि जिल्ला अस्पताल पाँचथर,इलाम र झापाको बिएण्डसी अस्पताल पुर्याइयो । उपचारकै क्रममा प्रिन्सा र दिप्सनको निधन भयो ।
उपचारका निम्ति काठमाडौं ल्याइएका पवन र दिप्सन राईलाई आर्थिक अभाव भएको छ । सरकारले मृतक बालबालिकाको परिवारलाई क्षतिपूर्ति दिन र घाइते बालबालिकालाई उपचारमा सहयोग गर्न चासो नदेखाएपछि स्थानीयले सहयोग समिति बनाएर आर्थिक संकलन गरिरहेका छन् । यता, प्रदेशका सांसद, स्थानीय नेताहरुले उनीहरुलाई सहयोग गर्न सरकारको निरन्तर ध्यानाकर्षण गराइरहेका छन् ।
टिप्पणीहरू