अस्ति जनप्रतिनिधिको चर्काचर्की,आज जनताको प्रदर्शन

अस्ति जनप्रतिनिधिको चर्काचर्की,आज जनताको प्रदर्शन

काठमाडौँमा पर्ने बागमती,विष्णुमती लगायत नदी आसपासका स्थानीयहरु प्रदर्शनमा उत्रिएका छन् । सर्वोच्च अदालतले नदी किनारको दायाँबायाँ थप २० मीटर मापदण्ड तोक्न आदेश दिएसँगै स्थानीयहरु प्रदर्शनमा उत्रिएका हुन् । 

अदालतको आदेशसँगै काठमाडौँ महानगरका मेयर बालेन साहले केही दिनअघि नदीको थप २० मीटर दायाँबायाँ निर्माण निषेधित क्षेत्र घोषणा गरेका थिए । यद्यपि, उक्त क्षेत्रभित्र मापदण्ड अनुसार बनेका संरचना भत्काउनु नपर्ने उनको भनाई छ । 

तर अदालतकाे आदेश न्यायिक नभएको भन्दै स्थानीयले विरोध गरिरहेका छन् । उनीहरुले आज ‘गैर न्यायिक सडक मापदण्ड खारेज गर’, ‘जनतालाई घरवारविहिन बनाउन पाइँदैन’जस्ता ब्यानरसहित प्रदर्शन गरेका हुन् । 

पछिल्लो समय नदी छेउका जग्गासम्बन्धी किचलोले महानगरभित्रै पनि आन्तरिक द्वन्द्व  चलिरहेको छ । भदौ १८ गतेको कार्यपालिका बैठकमा जनप्रतिनिधिहरुबीच नै चर्काचर्की भएको थियो । अदालतको आदेशलाई आधार बनाएर मेयर बालेनले सूचना प्रकाशित गरेपछि उपमेयर सुनिता डंगोल र वडा नं २२ का वडाध्यक्ष चिनकाजी महर्जनले आपत्ती जनाएका थिए । 

अदालतको फैसलामा पुनरावलोकन गर्न सकिने विकल्प हुँदाहुँदै बालेनले हतारमा सूचना प्रकाशित गरेको जनप्रतिनिधिको गुनासो थियाे । जनप्रतिनिधिहरुकाे दर्जनौँ प्रश्नले माहोल बिग्रन सक्ने सम्भावना देखेपछि मेयर बालेन निर्धारित समयभन्दा अगावै ‘बैठक सकियो, धन्यवाद’ भन्दै उठेर हिँडेका थिए ।

तस्बिरहरु

टिप्पणीहरू