परम्परागत वस्तुको संरक्षणका लागि ‘ग्रीन शनिबार’

परम्परागत वस्तुको संरक्षणका लागि ‘ग्रीन शनिबार’

परम्परागत वस्तुहरुको संरक्षण गर्ने र सान्दर्भिकता बुझाउने उद्देश्यका साथ युवाहरुको एक समूहले ‘ग्रीन शनिबार’ अभियान चलाएको छ । सांस्कृतिक सम्पदालाई करुणाका कार्यसँग जोड्ने लक्ष्य लिएर समान विचारधाराका युवाहरुले स्थापना गरेको ‘मोही’ नामक संस्थामार्फत अभियान संचालन गरिएको हो । 

अभियानअन्तर्गत शनिबार साँझ ललितपुरको पाटनका गल्लीहरुमा कुकुरलाई खाना खुवाइयो । युवाहरुको एक समूहले बेवारिसे कुकुरलाई सालको पातबाट बनेको परम्परागत दुना–टपरीमा खाना खुवाईरहेको हेर्न स्थानीयको भीड लागेको थियो । कुकुरलाई दुना–टपरीमा खाना खुवाएको देखेर शुरुमा आश्चर्यचकित परेका स्थानीय यसबारे बुझेपछि अभियानमा जोडिए । 

परम्परागत र सांस्कृतिक अभ्यासलाई पुनःरुत्थान गर्दै युवाहरुलाई ती अभ्याससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक सृजन थापाले बताए । उनले भने,‘हामीले यी टपरी थालीहरु आफ्नै हातले बनाएका हौं । केही सदस्यहरुले आज सांस्कृतिक प्राकृतिक प्लेट बनाउन पनि सिके ।’ 

अर्का सहभागी सदिक्षा केसीले आफ्नो अनुभव सुनाइन्,‘दुना–टपरी बनाउन सिकेको यो पहिलोपटक हो । समुदायका लागि केही अर्थपूर्ण काम गर्दा खुशी लाग्दो रहेछ । हाम्रो संस्कृतिसँग जोडिने यो एउटा राम्रो तरिका थियो ।’

टपरी बनाउनुका साथै युवाहरुले जाँतोमा दाना पिसेर कुकुरका लागि खाना तयार पारेका थिए । रेजिना बस्नेतले भनिन्,‘हामी हातले खाना पकाउने ढिलो प्रक्रिया महसुश गर्न चाहन्थ्यौं । जाँतोको प्रयोगले हामीलाई हाम्रा पुर्खाहरुले कसरी काम गरे भन्ने अनुभव गर्न र श्रमको मूल्य बुझ्न सहयोग पुर्यायो ।’

टिप्पणीहरू