अमेरिकामा निर्यात बढाउन भन्साररहित सुविधाको निरन्तरतामा जोड

अमेरिकामा निर्यात बढाउन भन्साररहित सुविधाको निरन्तरतामा जोड

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा निर्यात बढाउन भन्साररहित सुविधाको निरन्तरतामा जोड दिएका छन् । 

अमेरिकाद्धारा ७७ वटा वस्तुमा दिएको भन्साररहित सुविधा आगामी वर्ष सकिन लागेकोले यसले निरन्तरता पाउनुपर्ने उनको माग छ । महासंघसहित विभिन्न संघसंस्थाद्धारा संयुक्त रुपमा आयोजित ‘नेपाल-अमेरिका व्यापार, लगानी अवसर र चूनौति’ कार्यक्रममा ढकालले आगामी साता आयोजना हुने व्यापार एंव लगानीसम्बन्धी सम्झौता (टिफा) परिषद्को बैठक यस सन्दर्भमा महत्त्वपूर्ण रहने बताए । 

अध्यक्ष ढकालले बैठकमा भन्साररहित सुविधासहित हाल निलम्बनमा रहेको जिएसपी सुविधाको निरन्तरतालाई प्राथमिकता दिइनुपर्नेमा विशेष जोड दिएका छन् । नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति भइरहेको समयमा भन्साररहित सुविधाको निरन्तरताका लागि सरकार र निजी क्षेत्रले संयुक्त रुपमा काम गर्नुपर्ने उनको निष्कर्ष छ । 

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण रावतले निजी क्षेत्रको सुझावअनुरुप अमेरिकासँग छलफल गरिने विश्वास दिलाए । प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले सदन र अन्य सम्बन्धित ठाउँमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

सन् २०१६ मा नेपालमा महाभूकम्प गएपछि अमेरिकाले विभिन्न ७७ वटा वस्तुको निर्यातमा भन्साररहित सुविधा दिएको थियो । उक्त सुविधा आगामी वर्ष समाप्त हुदैँछ । 

नेपाल र अमेरिकाबीच सन् २०११ मा टिफा सम्झौतासमेत भएको थियो । त्यसले द्धिपक्षीय लगानी र व्यापारका लागि अर्को सम्झौता गर्न आधार तयार पार्ने अपेक्षा गरिएको छ । तर, हालसम्म कुनै उपलब्धि हुन सकेको छैन । अझ हालको सुविधा समेत गुम्ने अवस्था आएको हुँदा अमेरिकामा निर्यात घट्न सक्ने सरोकारवालाको चिन्ता छ ।

 अमेरिका नेपालको दोस्रो ठूलो निर्यात गन्तव्य हो ।

टिप्पणीहरू