प्रेस चौतारी निर्धारित मितिको महाधिवेशनमा अडिग
नेकपा एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारी, नेपालले तोकिएकै मितिमा निर्वाचन गराउन नेपाल पत्रकार महासंघको ध्यानाकर्षण गराएको छ । चौतारीले असोज ५ गते नै निर्वाचन सम्पन्न गर्नेगरी कार्यतालिका प्रकाशन गर्न आग्रह गरेको छ । प्रेस चौतारीका महासचिव हिरामान लामाले महासंघ र सरोकारवाला संगठनबीच भएको समझदारीअनुसार अगाडि बढ्नुपर्ने बताएका छन् ।
‘पटकपटक निर्वाचन स्थगित भई अन्यौल उत्पन्न भएको स्थितिमा महासंघ र सरोकारवाला संगठनहरुबीच भएको समझदारीअनुसार पछिल्लोपटक असोज ५ गतेका लागि निर्वाचनको मिति तय भएको विदितै छ’, जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनैपनि घटनाक्रमबाट प्रभावित नभई घोषित मिति आगामी असोज ५ गते निर्वाचन सम्पन्न गर्नेगरी कार्यतालिका प्रकाशनलगायत आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सम्बद्ध सबै पक्षलाई प्रेस चौतारी अपिल गर्दछ ।’
महासंघ अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएसँगै निर्वाचनलाई लिएर अन्योल उत्पन्न भएको छ । उनको राजीनामाबारे महासंघको आज बस्ने बैठकमा छलफल हुने बताइएको छ ।
टिप्पणीहरू