केयर गिभरका कागजातमा कैफियत
इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयर गिभर) को रुपमा जान पेश गरिएको कागजातमा कैफियत देखिएको छ । आवेदकहरुले पेश गरेका कागजातमा कैफियत देखिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
यसअघि केयर गिभरको छनौट प्रक्रियामा पेश गरिएको कागजातबारे विभिन्न प्रश्न उठेपछि मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । गत साउन २५ गते मन्त्रालयका उपसचिव मेघनाथ रिजालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
मन्त्रालयले छानबिनको क्रममा केही कागजातमा कैफियत देखिएको भन्दै छानबिन प्रक्रिया सम्पन्न भएपश्चात् मात्र थप प्रक्रिया अघि बढाउने बताएको छ । विज्ञप्तिमा उल्लेख छ, ‘नेपाल सरकार र इजरायल सरकारबीचको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा नेपाली सहायक कामदार पठाउने सम्बन्धमा वैदेशिक रोजगार विभागबाट आवेदन माग गरिएकोमा केही आवेदकहरुले पेश गरेका कागजातहरुमा कैफियत देखिएकोले हाल कागजातहरु छानबिनको प्रक्रियामा रहेको र छानबिन प्रक्रिया सम्पन्न भएपश्चात मात्र थप प्रक्रिया अघि बढाइने व्यहोरा सरोकारवाला सबैमा जानकारीको लागि अनुरोध छ ।’
नेपाल सरकार र इजरायल सरकारबीच भएको सम्झौताअनुसार वैदेशिक रोजगार विभागले गत असारमा इजरायलमा केयर गिभरको रुपमा काम गर्न इच्छुक आठ सय जनाका लागि आवेदन खुलाएकोमा पछि कामदार संख्या थप गर्दै दुई हजार कायम गरेको थियो ।
जसअनुसार केयर गिभरका लागि कुल चार हजार २४ जनाले आवेदन दिएकोमा तीन हजार ४६१ जनाको मात्रै आवेदन सदर भएको छ । तर, कतिपय आवेदकले केयर गिभरको तालिम नै नलिई नक्कली प्रमाणपत्र पेश गरेको पाइएपछि मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।
मन्त्रालयको छानबिनबीच इजरायलस्थित जनसंख्या तथा अध्यागमन प्राविधिकरण (पीबा) ले गत भदौ १३ गते ‘लक्की ड्र’ गरेको थियो । जसबाट दुई हजार २०२ जनाको नाम छनौट गरिएको छ ।
टिप्पणीहरू