लुम्बिनीका वनमन्त्री राजीनामा दिन बाध्य

लुम्बिनीका वनमन्त्री राजीनामा दिन बाध्य

चर्को आलोचनापछि लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन् । उनले साँझ मुख्यमन्त्री चेतनारायण आचार्यलाई राजीनामा पत्र बुझाएका हुन् । उनको राजीनामा स्वीकृत हुन बाँकी रहेको बताइएको छ । 

बाँकेको क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद कुर्मीमाथि स्थानीय निर्मलादेवी कुर्मीलाई अपहरण गरेर बेपत्ता बनाएको आरोप लाग्दै आएको छ । गत साउन ९ गते मन्त्री नियुक्त भएदेखि नै उनी थप विवादमा आएका हुन् । महिलाअधिकारकर्मीले कुर्मीविरुद्ध आन्दोलन समेत गर्दै आएका छन् । 

निर्मलादेवीको घटनामा छानबिन गर्न २०७८ कात्तिक २ गते गृह मन्त्रालयका तत्कालीन सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा छानबिन समिति बनाइएको थियो ।

समितिले कुर्मीसहित आठ जनामाथि गम्भीर ढंगले अनुसन्धान गर्नुपर्ने प्रतिवदेन तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई बुझायो । तर राजनीतिक शक्तिको आडमा ०७९ मंसिरको निर्वाचनमा काँग्रेसबाटै टिकट हात पारेर प्रदेश सभामा विजयी भए ।

टिप्पणीहरू