जनयुद्धमा बेपत्ता लक्ष्मीको अन्त्येष्टि, ८३ वर्षीय बृद्ध बाबु किरियामा
माओवादी जनयुद्धमा बेपत्ता पारिएकी एक महिलाको कुशको शव बनाएर अन्तेष्टी गरिएको छ । २२ वर्षअघि वेपत्ता मोरङ पथरीशनिश्चरे नगरपालिक-५ की लक्ष्मी खतिवडाको भदौ १७ गते दाहसंस्कार गरिएको हो ।
माओवादीमा आबद्ध लक्ष्मीलाई २०५९ भदौ २५ गते तत्कालीन शाही नेपाली सेनाले पक्राउ गरेर बेपत्ता पारेको थियो । २२ वर्ष बितिसक्दासमेत छोरी फर्किएर नआएपछि छोरीको दाहसंस्कार गरेका ८३ वर्षीय बुवा जनकलाल खतिवडा किरियामा बसेका छन् ।
जनकलालले छोरीको मृत्युको न्यायिक घोषणा गर्न माग गर्दै २०८० साउन १४ गते मोरङ जिल्ला अदालतमा निवेदनसमेत दिएका थिए । अदालतले लक्ष्मीलाई मृतक घोषणा गरेपछि वडा कार्यालयले मृत्यु दर्ता गरिदिएको थियो ।
परिवारका अनुसार लक्ष्मी २०५८ मंसिरमा माओवादीको पूर्णकालीन कार्यकर्ता भएकी थिइन् । युद्धकै क्रममा उनलाई २०५९ भदौ १७ गते सुनसरीको खनारस्थित नहर पूर्वबाट सेनाले नियन्त्रणमा लिएर बेपत्ता पारेको भाइ प्रेम खतिवडाले बताए ।
‘दिदी पक्राउ परेको खबर पाएपछि हामीले इटहरीमा रहेको तत्कालीन शाही नेपाली सेनाको व्यारेकमा गएर बुझ्यौं । उहाँहरुले कुनै जानकारी नभएको बताउनुभयो । त्यतिबेलादेखि दिदी बेपत्ता हुनुहुन्छ’,उनले भने ।
२०३६ पुस २२ गते भोजपुरको खार्तम्छास्थित सानो दिङ्लामा जन्मिएकी लक्ष्मीको परिवार २०४८ सालमा सुनसरीको बौकामा बसाइँसरी आएको थियो । त्यहाँबाट २०५१ सालमा उनीहरु मोरङ बसाइँ सरेका हुन् । उनको ८३ वर्षीय बुवा, ७८ वर्षीया आमाका साथै पाँच दाजुभाइ र दुई दिदीबहिनी छन् ।
लक्ष्मीजस्तै माओवादी जनयुद्धका क्रममा हजारौँ नागरिक वेपत्ता भएका छन् । ०६३ साल मंसिर ५ गते तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी)बीच बिस्तृत शान्ति सम्झौतामा हस्ताक्षर हुँदा ६ महिनाभित्र वेपत्ता पारिएका नागरिकको खोजि गरि उनीहरुको अवस्था सार्वजनिक गर्ने भनिएको थियो । तर, १८ वर्षसम्म राज्यले वेपत्ता नागरिकको सत्यतथ्य पत्ता लगाउन सकेको छैन ।
टिप्पणीहरू