एयरपोर्टमा माला–खादा प्रतिवन्धबारे क्यानको प्रष्टीकरण

एयरपोर्टमा माला–खादा प्रतिवन्धबारे क्यानको प्रष्टीकरण
सुन्नुहोस्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले माला–खादा नलगाई आउन यात्रुहरुलाई आग्रह गरेको छ । 

आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवन प्रवेश गर्दा बिदाईस्वरुप लगाएको माला–खादाले विमानस्थलको सुरक्षा उपकरण बिग्रिएपछि कार्यालयले यस्तो अनुरोध गरेको हो । कार्यालयले आज सूचना जारी गर्दै माला–खादाले विमानस्थल दुर्गन्धित भएको पनि जनाएको छ । 

‘हवाई यात्रु महानुभावहरुले यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवन प्रवेश गर्दा बिदाईस्वरुप साथमा लगाई आउने वा व्यागमा झुण्ड्याई बाँधी ल्याइने खादा अगाडि सुरक्षा जाँचको क्रममा विमानस्थलको सुरक्षा उपकरणहरु (एक्स–रे), कन्भेयर बेल्ट तथा स्केलेटरहरुमा अड्कीइ उपकरणहरुलाई गम्भीर क्षति पुर्याई रहेको साथै यात्रुहरुले खादा–मालाहरु विमानस्थलका विभिन्न क्षेत्रहरुमा छाडी जाने समेत गर्नाले विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर पुग्ने गरेको...’,सूचनामा उल्लेख छ । 

त्यसैगरी, कार्यालयले सुरक्षा अवधिभर त्यस्ता वस्तुको प्रयोग नगर्न र लैजानुपर्ने भएमा आफ्नो व्यागभित्र नदेखिनेगरी राख्न सूचित गराएको छ । विदेश उड्न लागेका एक यात्रुलाई खादा खोल्न लगाएको भिडियो हाल सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

प्रहरीले खादा खोल्न लगाएर दुर्व्यवहार गरेको भनि चर्को विरोध भएपछि कार्यालयले सूचना जारी गरेर खादा–माला नल्याउन भनेको हो ।

टिप्पणीहरू