स्वास्थ्य मन्त्रालयले थाल्यो जग्गाको खोजविन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका रहेका सरकारी स्वामित्वका जग्गाको विवरण संकलन गर्न लागिएको छ । स्वास्थ्य मन्त्रालयले देशभरका सरकारी अस्पताल, विभाग, केन्द्र, सेन्टर र प्रयोगशालालाई परिपत्र गर्दै जग्गाको विवरण पठाउन निर्देशन दिएको हो ।
परिपत्रमा तत् तत् निकायका नाममा रहेका जग्गा उपयोगको अवस्थासम्बन्धी विवरण आगामी पन्ध्र दिनभित्र पठाउन भनिएको छ । साथै, जग्गा लिजमा दिइएको भएमा कुन मितिमा कसलाई के शर्तमा उपलब्ध गराएको हो ? त्यसको सम्पूर्ण व्यहोरा स्पष्ट हुनेगरी जग्गाधनी प्रमाणपुर्जा र सम्बन्धित कागजात पठाउन समेत मन्त्रालयको निर्देशन छ ।
‘तहाँ विभाग, केन्द्र, प्रयोगशाला, अस्पताल, सेन्टरका नाममा के कति जग्गा दर्ता कायम रहेको छ ? दर्ता कायम हुन बाँकी जग्गा के कति छ ? जग्गाको उपयोगको अवस्था के छ ? अन्य निकाय वा व्यक्तिलाई जग्गा उपयोग वा लिजमा उपलब्ध गराएको छ, छैन ? उपयोग वा लिजमा उपलब्ध गराएको भए के कुन मितिमा कति जग्गा व्यक्ति वा निकायलाई के कुन शर्तमा उपलब्ध गराएको छ ? सम्पूर्ण व्यहोरा स्पष्ट हुने गरी यो पत्र प्राप्त भएको मितिले १५ दिनभित्रमा यस मन्त्रालयमा प्राप्त हुने गरी विवरण खुलाउनुका साथै जग्गाधनी प्रमाणपुर्जा र अन्य सम्बन्धित कागजातको प्रतिलिपि पठाउन आदेशानुसार अनुरोध छ,’ परिपत्रमा उल्लेख छ ।
टिप्पणीहरू