मनसुन पुनः सक्रिय, सुदूरपश्चिममा उच्च सतर्कता

मनसुन पुनः सक्रिय, सुदूरपश्चिममा उच्च सतर्कता
सुन्नुहोस्

सुदुरपश्चिममा मनसुन पुनः सक्रिय भएपछि सरकारले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । 

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर्दै आज साँझदेखि पर्सि बिहानसम्म उच्च सुरक्षा सतर्कता अपनाउन अपिल गरेको हो । 

मन्त्रालयले पर्सिसम्म भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने हुँदा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सावधानी अपनाउन भनेको छ । 

त्यस्तै, बाढी, पहिरो, डुबान, कटानको जोखिम देखिएमा सम्बन्धित जिल्ला र स्थानीय विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय र नेपाल रेडक्रस सोसाइटीलाई तुरुन्त खबर गर्न आग्रह गरिएको छ । बस्ती नजिक बाढी, पहिरो, डुबान जोखिम आँकलन गरी सुरक्षाकर्मी एंव स्थानीय तहसँगको समन्वयमा सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउन पनि मन्त्रालयको निर्देशन छ । 

बाढीको बारेमा जानकारी लिन जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर ११५५ मा फोन गर्न तथा तत्काल खोज, उद्दार र राहतका लागि जिल्ला विपद् व्यवस्थापन समिति, प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्रको १६००९१५६६८८ वा ०९१–५२१३२४ मा सम्पर्क गर्न भनिएको छ । 

मन्त्रालयले विपद्मा जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, महिला, बालबालिकाको विशेष ध्यान राख्न र सम्भावित विपद्का घटनालाई मध्यनजर गर्दै खोज, उद्दार र राहतका लागि तयारी अवस्थामा रहन सरकारी निकायलाई निर्देशन पनि दिएको छ । 

जल तथा मौसम विज्ञान महाशाखाले आज साँझदेखि भदौ २९ गते बिहानसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने बताएको छ । विशेषगरी बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी, अछाम बढी प्रभावित हुने भन्दै महाशाखाले यस क्षेत्रका बासिन्दालाई बढी चनाखो रहन अनुरोध गरेको छ । 

यो तीन दिन अत्यावश्यक काम नपरी घरदेखि टाढाको यात्रा नगर्न मन्त्रालयले सतर्क गराएको छ ।

टिप्पणीहरू