संवैधानिक निकायलाई तत्काल पूर्णता दिन प्रचण्डको जोड
प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक निकायका रिक्त सबै पदमा चाँडै नाम सिफारिस गर्नुपर्नेमा जोड दिनुभएको छ ।
आज बिहान बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटका क्रममा उहाँले संवैधानिक निकायहरू लामो समय रिक्त राख्दा राम्रो सन्देश नजाने भएकाले छिटो नाम सिफारिस गर्न भन्नुभएको हो । सम्भव भएसम्म भोलि बस्ने संवैधानिक परिषद्को बैठकमार्फत पूर्णता दिन प्रचण्डले जोड दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।
‘बैठकमा अध्यक्ष प्रचण्डबाट संवैधानिक निकायमा सम्भव हुन्छ भने भोलि नै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने, नभए पुनः अर्को सहमति गरेर चाँडै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने धारणा व्यक्त भयो,’ सचिवालयले भन्यो।
संवैधानिक परिषद् बैठकको तयारीका लागि प्रधानमन्त्री ओली, प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । आजको छलफलमा अन्य विषयमा भने कुराकानी नभएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
टिप्पणीहरू