सामान बोकेका चिनियाँ रेल नेपालको सीमा नजिकै

सामान बोकेका चिनियाँ रेल नेपालको सीमा नजिकै
सुन्नुहोस्

चीनमा रहेका केही नेपाली व्यवसायीको प्रयासमा विभिन्न शहरबाट नेपालको सीमानासम्म सोझै सामान पठाउन थालिएको छ । तिब्बतको सिगात्सेसम्म रेलमा पठाइएका ती सामान किफायती, हिफाजत र छोटो समयमा नेपालको सीमानासम्म आइपुगेको बताइएको छ ।

चीनको चच्याङ प्रान्तको यिवुमा रहेका नेपाली व्यवसायीहरुले परीक्षणको रुपमा अगष्ट ८ तारिखका दिन पठाइएका ती सामान १० दिनपछि अगष्ट १८ मा रेलमा सिगात्से पुगेको थियो । त्यहाँबाट स्थलमार्ग हुँदै ल्याइएका सामान अगष्ट २१ र २२ का दिन नेपाली सीमानामा यताका व्यवसायीलाई हस्तान्तरण गरिएको जानकारी दिइएको छ ।

नेपाल चाइना चेम्बर अफ कमर्स यिवु, चच्याङका प्रतिनिधि विष्णु दुमरू र यिवुमा व्यापार गरि बस्ने सम्पूर्ण नेपालीको प्रयासस्वरूप उक्त कार्य सम्भव भएको नेपाल चेम्बर अफ कमर्स पूर्वी चाइना प्रतिनिधि राजकुमार खड्काले बताए । यसलाई निरन्तरता दिन सकिएको अवस्थामा आगामी दिनमा निकै ठूला, गह्रौं र फुट्ने सामान रेलबाट सजिलैसँग लैजान सकिने उनको भनाई छ । ‘सामान पुग्ने समय पनि दुइ तिहाइले बचत भएको छ । दुई देशबीच प्रत्यक्ष व्यापार गर्दा तेस्रो देशको भूगोल उपयोग गर्न आवश्यक नपर्ने अवस्था छ । अति आवश्यकीय वस्तु आयात गर्दा तेस्रो देशको नाजायज प्रस्ताव स्वीकार गर्न नपर्ने र विगतमा नाकाबन्दी जस्तो पीडा भोगिएको र त्यसप्रकारका घुर्की नेपालले आगामी दिनमा भोग्नुनपर्ने अवस्था सिर्जना भएको छ,’ खड्काले भने ।

यसैबीच नेपालको कोदारी र रसुवागढीबाट नजिकै रहेको रिकाजेमा चीनले तिब्बतको सबैभन्दा ठूलो सुख्खा बन्दरगाह बनाएपछि नेपाल हुँदै दक्षिण एसियाको व्यापारमा प्रमुख योगदान पुग्ने देखिएको छ । यसले चीनसँग नेपाल र दक्षिण एसियालाई व्यापारिक मार्गमा जोड्न विशेष योगदान पुग्ने अवस्था बनेको छ ।

रिकाजे नगरको हालै सम्पन्न ११ औं पार्टी समितिको दोस्रो बैठकले त्यहाँको सुख्खा बन्दरगाहलाई अन्तर्राष्ट्रियस्तरको बनाउने निर्णय गरेको छ । सो क्षेत्रमा हालसम्म चिलोङ, चाङमु, चेन्ताङ, रिवु र रिकाजेसहित पाँच वटा सुख्खा बन्दरगाहपछि ११ वटा परम्परागत सीमा व्यापार केन्द्र र एउटा सिगात्सेमा अन्तर्राष्ट्रिय सुख्खा बन्दरगाह बनाइएको छ । उक्त बन्दरगाह निर्माणको चरणमा छ ।

रेल सञ्चालनमा आएपछि उक्त शहरको आर्थिक समृद्धिमा पनि नयाँ लहर आएको हो । यिवुबाट अगष्ट ८ तारिखका दिन सिगात्सेको लागि छुटेको दक्षिण एसियाली रेल सञ्चालनमा तिब्बत जनसरकार, रिकाजे नगर सरकार र प्रिफेक्चरल सरकारको पहलको सफल नतिजा थियो ।

टिप्पणीहरू