काठमाडौँमा कृषि उद्यमीका समस्याबारे चर्चा

काठमाडौँमा कृषि उद्यमीका समस्याबारे चर्चा
सुन्नुहोस्

कृषि क्षेत्रको समस्या समाधानका साथै कृषि उद्यमीलाई सहयोग पुर्याउने उद्देश्यले ‘नेपालमा लघु, साना तथा मझौला कृषि उद्यमहरुको स्थिति, अवसर र चुनौती विषयक राष्ट्रिय कार्यशाला गोष्ठी’ आयोजना गरिएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघ र सिमिटको संयुक्त आयोजनामा हिजो काठमाडौँमा गोष्ठी गरिएको हो । प्रमुख अतिथिसमेत रहेका कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले कार्यक्रमलाई सम्बोधन गर्दै कृषि क्रान्तिको लागि कृषि दशक २०८१–२०९१ मनाउन लागेको जानकारी दिनुभयो । 

कृषि आयात प्रतिस्थापनका निम्ति सरकारले प्रयास गरिरहेको पनि उहाँले बताउनुभयो । मन्त्री अधिकारीले भन्नुभयो,‘सरकारले कृषि क्रान्तिका लागि कृषि दशक मनाउँदै छ । कृषि क्षेत्रको आयात प्रतिस्थापनको प्रयास पनि भइरहेको छ । महासंघ कृषि उद्यम केन्द्रद्धारा आयोजित गोष्ठीको निष्कर्ष कृषि दशकको लागि मार्गदर्शक बन्न सकोस् भन्ने कामना गर्दछु ।’

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा क्रियाशील लघु, साना तथा मझौला उद्यमीहरुले भोगिरहेका समस्यामाथि बेलाबखत छलफल गर्न आवश्यक रहेको औंल्याउनुभयो । छलफलका क्रममा देखिएका समस्या निराकरणका लागि सबै पक्ष मिलेर कार्य गर्ने वातावरण निर्माण हुनेमा महासंघ आशावादी रहेको उहाँको भनाइ छ । 

उहाँका अनुसार कृषि क्षेत्र हेर्नेगरी महासंघले स्थापना गरेको कृषि उद्यम केन्द्रले उद्यमीहरुका लागि स्थापनाकालदेखि नै विभिन्न गतिविधि सञ्चालन गर्दै आइरहेको छ । कृषि क्षेत्रको विकासका लागि निजी क्षेत्रले प्रतिनिधिका रुपमा सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । 

‘कृषि व्यवसाय मात्र होइन्, सबै क्षेत्रमा निजी उद्यमीहरु व्यवसायिक वातावरणको अपेक्षा गर्दछन् । त्यसका लागि सबै पक्ष मिलेर काम गर्न अनुरोध गर्दछु’,उहाँले भन्नुभयो । त्यस्तै, उहाँले युएसएडको सहयोगमा सीआईएमएमवाईटीद्धारा सञ्चालित ‘नेपाल सेड एण्ड फर्टिलाइजर’ कार्यक्रम सञ्चालनका लागि महासंघसँग सहकार्य गरेकोप्रति खुशी व्यक्त गर्नुभयो ।

टिप्पणीहरू