जेलमुक्त हुँदै केजरीवाल, भाजपा नेताको तिखो टिप्पणी

जेलमुक्त हुँदै केजरीवाल, भाजपा नेताको तिखो टिप्पणी

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल धरौटीमा रिहा भएका छन् । 

भारतीय सर्वोच्च अदालतका न्यायाधीशद्वय सूर्यकान्त र उज्जवल भूइयाको संयुक्त इजालाशले १० लाख धरौटी लिएर केजरीवाललाई छाड्न आदेश दिएको हो । 

अदालतको आदेशसंगै मदिरा नीतिमा घोटला गरेको आरोपमा मुद्दा चलाइएका मुख्यमन्त्री केजरिवाल १७७ दिनपछि थुनामुक्त हुँदैछन् । भारतीय पर्वतन निर्देशनालय (इडी)ले गत मार्च २१ मा उनलाई नियन्त्रणमा लिएको थियो । 

करिब १० दिन प्रहरी हिरासतमा राखेर सोधपुछ गरेपछि उनलाई तिहाड जेलमा लगिएको थियो । लोकसभा चुनावका लागि उनलाई मे १० मा २१ दिनका लागि थुनामुक्त गरिएको थियो । जुन २ मा केजरीवालले पुनः तिहाड जेलमा उपस्थित भएका थिए । 

यसरी १५७ दिन तिहाड जेल बसाई र १० दिनको प्रहरी हिरासतपछि उनी रिहा हुन लागेका हुन् । अदालतको आदेशपछि आम आद्मी पार्टीका नेता तथा कार्यकताहरुले खुशीयाली मनाएका छन् । 

नेता शरद पवारले केजरिवालको रिहाइपछि देशमा लोकतन्त्र अझै जिवित रहेको टिप्पणी गरे । उनले भनेका छन्, ‘लोकतन्त्र अझै मरेको छैन, यति लामो लडाइँपछि अन्ततः सत्यको जीत भएको छ ।’

उता सत्ताधारी भारतीय जनता पार्टीका नेता गौरव भाटियाले भने अदालतको आदेशप्रति तिखो टिप्पणी गर्दै केजरीवाललाई ‘वेलवाला’ मुख्यमन्त्रीको संज्ञा दिएका छन् । ‘केजरीवाल हिजोसम्म जेलवाला मुख्यमन्त्री थिए, अब वेलवाला मुख्यमन्त्री बन्ने भए ’, उनको प्रतिक्रिया छ ।

टिप्पणीहरू