अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाली हाकिमको ‘ल्याङ्गफ्याङ्ग’

अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाली हाकिमको ‘ल्याङ्गफ्याङ्ग’
सुन्नुहोस्

सार्वजनिक पद धारकले सभा–समारोह तथा सार्वजनिक मञ्चमा दिने अभिव्यक्ति मात्र होइन, शारीरिक हाउभाउको पनि ठूलो अर्थ र महत्व हुन्छ । कूटनीतिक क्षेत्रमा त ‘बडी ल्याङ्गवेज’ लाई संवादकै महत्वपूर्ण पक्ष मान्ने चलन छ । त्यसैले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने राजनीतिक तथा प्रशासनिक नेतृत्वका प्रस्तुति र शारीरिक हाउभाउ चर्चा र टिप्पणीको विषय बन्ने गरेको छ । 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एशिया प्रशान्त क्षेत्रीय मन्त्रिस्तरीय दोस्रो सम्मेलनमा सहभागी हुन भारतको राजधानी नयाँ दिल्ली पुगेका एकजना उच्च सरकारी अधिकारीको हाउभाउ यतिबेला चर्चामा छ ।

अस्तिदेखि आजसम्म जारी सम्मेलनमा नेपालको तर्फबाट संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेतृत्व गर्नुभएको छ । प्रतिनिधिमण्डलमा नागरिक उडडयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलगायतको पनि सहभागिता छ । तर,मन्त्रिस्तरीय सम्मेलनमा उनै अधिकारीले सामान्य शिष्टाचार कायम गरेको पाइएन । 

सार्वजनिक तस्वीरहरुमा अधिकारीको आसन अस्वाभाविक देखिन्छ भने हाउभाउ मर्यादित लाग्दैन । सम्मेलनमा नेपालको तर्फबाट मन्त्री पाण्डेले प्रस्तुति दिइरहँदा उनी चिउँडोमा हात राखेर बसेका छन् । अर्को फोटोमा दुबै हात बाँधेर ‘गजधम्म’ शैलीमा बसेका छन् । कुर्सीमै सुतेको झैँ लाग्नेगरी ‘लमतन्न’ परेको अशिष्ट आसनको फोटो पनि बाहिर आएको छ ।

सम्मेलनमा मात्र होइन सहभागी विभिन्न मुलुकका उच्च अधिकारीहरुसँग भएको छुट्टै छलफलमा पनि महानिर्देशक अधिकारीको आसन शिष्टाचार अनुकूल नरहेको स्रोतले बतायो । नेपालले पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई रुट माग्दै आएको छ । दुई देशका उच्च अधिकारीबीच एक वर्षयताका प्रायः सबैजसो भेटवार्तामा नियमित एजेण्डा बन्दै आएको यस्तो संवेदनशील छलफलमा मुख्य सरोकारवाला निकायको प्रमुख हुनुका नाताले अधिकारीको उपस्थिति महत्वपूर्ण रहन्छ । तर, त्यो तहको गाम्भीर्यता नरहेको सन्देश जानेगरी उनी ‘ल्याङ्गफ्याङ्गे’ पारामा प्रस्तुत भएको पाइयो ।    

एशिया प्रशान्त क्षेत्रमा नागरिक उड्डयनलाई थप प्रभावकारी बनाउन नयाँ रोडम्याप तयार गर्ने उद्देश्यले आयोजित सो सम्मेलन कति महत्वपूर्ण थियो भने समापन समारोहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेका छन् । सम्मेलनमा ४१ देशका दुई सय ५० भन्दाबढी प्रतिनिधिको सहभागिता छ ।

त्यसो त, अधिकारी आफैंमा विवादित पात्र हुन् । तत्कालीन पर्यटनमन्त्री, सत्ताधारी दल र प्रमुख प्रतिपक्षका नेतालाई रकम बुझाएर क्यानको डिजी बनेको बताउने उनीमाथि आर्थिक अनियमितताको आरोप लाग्दै आएको छ । पोखरा विमानस्थल निर्माणमा करोडौँ घोटाला गरेको आरोपमा उनीसँग अख्तियारले सोधपुछसमेत गरेको थियो । 

हवाई सुरक्षामा क्यान र अधिकारीको भूमिकामाथि पनि गम्भीर प्रश्न उठिरहेका छन् । पछिल्लो पटक सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि संसदीय समितिमा उभ्याइएका उनलाई सांसदहरुले र्याखर्याख्ती नै पारेका थिए । सत्तारुढ नेपाली काँग्रेसका सांसद तथा पूर्व राज्यमन्त्री उदयसमशेर राणालगायतले जहाज दुर्घटनाको नैतिक जिम्मेवारी लिएर पद छोड्न सुझावसमेत दिएका थिए । 

आफू प्राधिकरणको महानिर्देशक बनेपछि सात वटा हवाई दुर्घटना भएको र ११८ बढीले ज्यान गुमाएको पृष्ठभूमिमा उठेका प्रश्नमा अधिकारी संवेदनशील देखिएनन् । प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई रिझाएर क्यानमा एकछत्र गरिरहेका उनले उल्टै सांसदहरुकै भूमिकामाथि औंलो ठड्याउने गरेका छन् ।

टिप्पणीहरू