एनसेलविरुद्ध अमरेशको रिट पूर्ण इजलासमा
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर स्वामित्व खरिद–बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिट पूर्ण इजलासमा पेस गर्न आदेश भएको छ ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासले आज रिटलाई अग्राधिकार प्रदान गर्दै पूर्ण इजलासमा पेस गर्न आदेश दिएको हो । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले गत मंसिर २२ गते एनसेलविरुद्ध रिट दर्ता गरेका थिए ।
रिटमा पूँजीगत लाभकर छल्ने उद्देश्यले वास्तविकभन्दा कम मूल्यमा शेयर बिक्री गर्न खोजिएको दाबी गरिएको छ । एनसेल, नेपाल दूरसञ्चार प्राधिकरण, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा कार्यालय, आन्तरिक राजस्व कार्यालयलाई विपक्षी बनाइएको रिटमा सेयर किनबेच रोक्न कम्पनी रजिष्ट्रारको कार्यालयका नाममा अन्तरिम आदेश माग गरिएको थियो ।
तर, पटक–पटक पेशी तोकिएर पनि सुनुवाई स्थगित हुँदै आएकोमा अन्ततः पूर्ण सुनुवाइमा पठाइएको छ । आजसमेत १६ पटक पेशीमा चढेको यो मुद्दा लगातार पाँच दिन हेर्न नभ्याइनेमा परेको थियो । त्यसपछि कारण देखाऊ आदेश जारी भएकोमा फेरि चार दिन लगातार हेर्न नभ्याइनेमा परेर गत वर्ष माघ १९ गते सुनुवाई भएको थियो ।
टिप्पणीहरू