सिके राउतकी श्रीमती भन्छिन् : उहाँको मानसिक अवस्थाको जाँच गरौं

सिके राउतकी श्रीमती भन्छिन् : उहाँको मानसिक अवस्थाको जाँच गरौं

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतकी पत्नीले सम्बन्ध विच्छेदको मुद्दा खारेजीको माग गर्दै ललितपुर जिल्ला अदालतमा प्रतिउत्तर बुझाएकी छन् । राउतले गत भदौ १२ गते श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदको माग गर्दै मुद्दा दायर गरेका हुन् । सोनीले अध्यक्ष राउतको मानसिक अवस्था चेकजाँच गर्न पाउने आदेश र मुद्दा खारेजीको माग प्रत्तिउत्तरमा लेखेकी छन् ।

अध्यक्ष राउतले शारीरिक र मानसिक यातना दिएर उल्टै सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएको श्रीमतीको दावी छ । आफूलाई रोग अर्कै भए पनि राउतले भने डिप्रेसनको औषधि मात्र खान दिएको उनले बताइन् । लेखिएको छ, ‘मलाई पेट दुख्ने, टाउको दुख्नेलगायत स्वास्थ्यमा गडबड भएको अवस्थामा डिप्रेसनको औषधि खा भन्ने जस्ता अस्वाभाविक कार्यहरू गर्नु भएकाले र मलाई सँधै दुःख दिनेमात्र नियत राखेको, विपक्षीको नै मानसिक समस्या छ जस्तो लागेकाले निज विपक्षीको मानसिक अवस्था जाँच गरी पाउने आदेशका लागि सम्मानित अदालतसमक्ष निवेदन गर्दछु ।’  

सोनीले दाम्पत्य सम्बन्धको परिभाषा नाघेर राउतले ज्यादती गरेको आरोप लगाएकी छन् । आफू सम्बन्ध विच्छेदको लागि तयार नरहेको उनको जिकीर छ । ‘विपक्षीले मलाई एउटा कामदारको रूपमा भन्दा पनि तल्लो दर्जामा राख्नु भएको र मलाई व्यवहारका कुराहरू सबै लुकाइ मसँग सम्बन्ध विच्छेद गर्न चाहनु भएकाले सो सम्बन्ध विच्छेद गर्न मेरो सहमति नभएको कुरा सम्मानित अदालतसमक्ष जाहेर गर्न चाहन्छु’, उनले थपिन् ।

त्यसो त, अध्यक्ष राउतले दायर गरेको सम्बन्ध विच्छेदको मुद्दामा सोनी घरमा नबस्ने, भारत (माइत)मात्र जाने, बाल–बच्चा नहेर्ने, कलह मात्रै गर्नेलगायत आरोप लगाएका छन् । सोनीले त्यसको पनि विस्तृत रुपमा खण्डन गरेकी छन् । लेखिएको छ, ‘परिवारको यातनाबाट बच्न म माइती भारत गए। म माइती मै भएको बेला विपक्षी पति माइतीमा गएर गाली गलौज गरेकोले तथा निजको घरबाट मलाइ तनावहरु उत्पन्न भैरहन्थ्यो । तत्पश्चात हामी राजविराजबाट जनकपुर बस्न आएका थियांै । सोहि बखत विपक्षी पतिले मलाइ पटना लिएर जानुभयो र त्यहाँको पारस अस्पतालमा मेरो उपचार गराउने बहानामा मलाइ तिमिलाई डिप्रेसन छ भन्दै डिप्रेसनको औषधि खुवाउनुभयो ।’

उनको त्यसबेलाको उपचारको प्रेसकिप्सन प्रमाणको रुपमा अदालतमा पेश गरेकी छन् । त्यसपछि पुनः पटना घुम्न भनेर मुम्बई पुर्याएर त्यहाँपनि डिप्रेसनको औषधि खुवाएको दाबी छ । आफूलाई मानसिक रोग डिप्रेसन नभएपनि डिप्रेसनको औषधि खाँदा स्वास्थ्यमा समस्या हुँदै गएको उल्लेख छ । ‘मसँग झगडा हुँदा तिमीलाई डिप्रेसन छ धेरै नबोल भन्नु हुन्थ्यो । दिन बित्दै गएता पनि तनाव र यातनाको कमी भएन । यी सबै पारिवारिक कारणले गर्दा नै लगातार ५ वर्षसम्म डिप्रेसनको औषधि खाएँ । हाल मैले उक्त औषधि खान छाडेकी छु र आराम गरेकी छु,’ अदालतमा हालिएको प्रतिउत्तरमा उल्लेख छ ।

टिप्पणीहरू