पूर्व प्रधानमन्त्रीहरु उपत्यका बाहिर, एआईजीसँगै डा. भट्टराई पोखरामा

पूर्व प्रधानमन्त्रीहरु उपत्यका बाहिर, एआईजीसँगै डा. भट्टराई पोखरामा

पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पोखरा पुग्नुभएको छ । उहाँ बिहान१० बजे बुद्ध एअरको उडानमा काठमाडौंबाट त्यहाँ पुग्नुभएको बताइएको छ ।

डा. भट्टराईसँगै सोही उडानमा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सुदिप गिरी पनि पोखरा गएको बताइन्छ । यता, पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहान १० बजे भरतपुर जानुभएको छ । उहाँ केही समयपछि काठमाडौं फर्कने कार्यक्रम छ । 

अध्यक्ष दाहालसँग नेपाल भ्रमणमा आज बिहान काठमाडौं आइपुगेको चिनियाँ कम्युनिष्ट पार्टीको छिङहाइ प्रान्तीय कमिटीका सचिव छन काङ्गसँग दिउँसो साढे ३ बजे उहाँको निवास, खुमलटारमा भेटवार्ता गर्ने कार्यक्रम छ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बिहान पौने ९ बजे श्री एअरलाइन्सको उडानमा धनगढी जानुभएको छ ।

यता आफ्ना सभापति तथा सांसद रवि लामिछाने पोखरास्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेकाले रास्वपा सांसद तोसिमा कार्की बिहानै पोखरा पुगेको बताइन्छ । सांसद कार्की यति एअरलाइन्सको उडान नम्बर एनवाईटी ६७१ मा बिहान पौने ८ बजे त्यता गएको स्रोतले बतायो । सहकारी ठगी र संगठित अपराधको आरोप लागेका रवि लामिछानेलाई प्रहरीले हिजो पार्टी कार्यालयमा पक्राउपछि राति नै पोखरा पुर्याएको हो ।

टिप्पणीहरू