चिनियाँ नेता आइपुगे नेपाल, दिउँसोदेखि भेटघाट शुरु

चिनियाँ नेता आइपुगे नेपाल, दिउँसोदेखि भेटघाट शुरु

चिनियाँ कम्युनिष्ट पार्टीको छिङहाइ प्रान्तीय कमिटीका सचिव छन काङ्ग नेपाल आउनुभएको छ । एअर चाइनाको उडान नम्बर सिए ४३७ मा सिचुआन प्रान्तको राजधानी छन्तुबाट भर्खरै काठमाडौं आइपुगेको टोलीले आजै दिउँसो साढे २ बजे नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँको निवास बूढानीलकण्ठमा भेटवार्ता गर्नेछ । 

प्राप्त जानकारीअनुसार सचिव छनले साढे ३ बजे माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उहाँको निवास खुमलटारमा भेट गर्नुहुने छ । साँझ ६ बजे एमाले महासचिव शंकर पोखरेलले चिनियाँ पाहुनाको सम्मानमा होटल द्वारिकामा रात्रिभोजको आयोजना गर्दै हुनुहुन्छ । 

उहाँको भोलि बिहान पौने ९ बजे बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाटको कार्यक्रम छ । त्यसपछि चिनियाँ पाहुनाहरु नजिकैको चिनियाँ दूतावास पुग्ने र दिउँसो साढे २ बजे होटल याक एण्ड यतिमा हुन लागेको सम्मेलनमा सहभागी हुने बताइएको छ । सचिव छन साढे ४ बजे श्री जनकल्याण माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा सहभागी हुनुहुने छ ।

टोली भोलि नै साँझ साढे ५ बजे पुतलीसडकस्थित बाजेको सेकुवामा डिनर खाएपछि ७ बजे काठमाडौं दरबार स्क्वायरको भ्रमणमा जाने छ । पर्सि बिहान स्वयम्भू अवलोकन भ्रमण,त्यसपछि भक्तपुर दरबार स्क्वायरको अवलोकनसँगै लञ्चको कार्यक्रम रहेको बुझिएको छ । 

भक्तपुरबाट सोझै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर चिनियाँ टोली दिउँसो साढे १ बजे थाइ एअरवेजको उडान नम्बर टिजी ३२० मा बैंकक हुँदै स्वदेश फर्कने छ । पाहुना टोलीलाई नागपोखरीस्थित होटल मेरियटमा बस्ने प्रबन्ध मिलाइएको छ ।

नेपाल भ्रमणमा आउनुभएका ५९ वर्षीय छन यसअघि अल चाइना ट्रेड युनियन फेडरेसनको पार्टी सचिव हुनुहुन्थ्यो । पार्टी जिम्मेवारीको क्रममा अधिकांश समय राजधानी बेइजिङमा बिताउनुभएका उहाँ कुइयाङको पार्टी प्रमुख चुनिएपछि प्रान्तीय राजधानी कुइचौमा कार्यरत हुनुभयो । 

कुइचौपछि उहाँ सिओङआन न्यु एरियाको पार्टी सचिव र हपेइ प्रान्तको उपगभर्नर पनि बन्नुभयो । त्यसबखत छन काङ हपेइको प्रान्तीय पार्टी स्थायी समिति सदस्यको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

नौ सदस्यीय टोलीलाई नेपालका लागि चिनियाँ राजदूत छन सोङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वागत गर्नुभएको थियो । टोलीमा पेङ सिउपिन, वाङ चिचोङ, लिउ चाङ, चङ देङख, तु सिआओली, चङ युआ, वाङ सिछी र छन् योङ पेइ रहेको बताइएको छ ।

टिप्पणीहरू