सवारी साधनहरु तयारी अवस्थामा राख्न निर्देशन

सवारी साधनहरु तयारी अवस्थामा राख्न निर्देशन

आसन्न स्थानीय तह उपचुनावका लागि निर्वाचन आयोगले भौतिक संरचना र सवारीसाधन तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । आयोगले उपचुनाव हुने स्थानीय तहमा भौतिक साधन, सभागृह, अतिथिगृह, सवारी साधन, परिवहनका साधनसहित अन्य विद्युतीय उपकरण दुरुस्त अवस्थामा राख्न भनेको हो । 

त्यस्तै, मतदानस्थल संरक्षण, मर्मत सम्भार एवम् खानेपानी, शौचालय, विद्युत, सञ्चार आवतजावतको वैकल्पिक मार्ग, सडक, पुल, कम्पाउण्ड वाल, तारवार आदिको व्यवस्था गर्न र ज्येष्ठ नागरिक, महिला तथा अपांगमैत्री बनाउन यथासम्भव प्रयत्न गर्न पनि अनुरोध गरिएको छ । 

आयोगले उपनिर्वाचनको कार्यसम्पादन गर्न स्थानीय तहमा कार्यरत कर्मचारीलाई खटाउन वा काममा लगाउन सकिने कानूनी व्यवस्थाबमोजिम कर्मचारीको विवरण अद्यावधिक गर्न र माग भएका बखत तत्काल उपलब्ध गराउने अवस्थामा राख्नुपर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

उपचुनावमा यातायातको सहज पहुँचका लागि यातायात व्यवस्थालाई नियमित र भरपर्दो बनाई निर्वाचन अधिकृतको कार्यालय रहने स्थानसम्मको आवागमनलाई निर्वाध रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाउन आयोगको निर्देशन छ । ‘तोकिएको मतदानस्थल र मतदान केन्द्रहरुसम्म पुग्ने सडक तथा अन्य भौतिक पूर्वाधारहरु समेत स्थानीय तहबाट प्राथमिकताका साथ आवश्यक मर्मत सम्भार गरी गराई सुचारु अवस्थामा राख्ने व्यवस्था गर्ने,’ भनिएको छ ।

आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई स्थानीय तहको स्वामित्व, नियन्त्रण वा अनुदानमा सञ्चालित कुनै संस्था, निकाय वा सामुदायिक विद्यालयको जग्गा, भवन, फर्निचरलगायत कुनै पनि भौतिक साधन प्रयोगमा पूर्णतः रोक लगाएको छ ।

यसैगरी, लागु आचारसंहिताको पालना गरी उपनिर्वाचन सम्पन्न नभएसम्म सम्बन्धित स्थानीय तहहरुलाई उपभोक्ता समिति गठन, नयाँ योजना सञ्चालन, उद्घाटनजस्ता कार्य नगर्न नगराउन र आचारसंहिता विपरीत कार्य भए गरेमा कारबाही गरी निर्वाचन अधिकृतको कार्यालय वा आयोगमा जानकारी गराउन अनुरोध गरिएको छ ।

टिप्पणीहरू