जहाजमा फेरि "बम आतंक",दु:खमाथि दु:ख

जहाजमा फेरि "बम आतंक",दु:खमाथि दु:ख

काठमाडौँबाट नयाँ दिल्ली उड्न लागेको जहाजमा बम राखिएको सूचनापछि त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा प्रहरीले संयमता अपनाएको छ । एयर इण्डियाको एआई–२१६ जहाजमा बम राखिएको हल्लापछि अहिले प्रहरीले चेकजाँच सुरु गरेको छ । 

१६९ यात्रु लिएर दिल्ली उड्न लागेको जहाजमा उतैबाट बम राखेको सूचना आएको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए । उनले जनआस्थासँग भने, ‘उडानको अन्तिम तयारी हुँदै थियो । तर भारतबाटै सूचना आएपछि हामीले प्रहरीलाई खबर गर्यौँ । अहिले चेकजाँच भइरहेको छ ।’

शेर्पाका अनुसार जहाज ३:५५ मा उड्ने सेड्युल थियो । त्यस्तो त,गत साता भारतबाट काठमाडौँ आउँदै गरेको भिस्तारा एयरवेजको जहाजमा पनि बम राखिएको सूचना आएको थियो । तर चेकजाँचको क्रममा उक्त सूचना गलत सावित भयो । 

आजको सूचना पनि गलत सावित हुनसक्ने कतिपयको अनुमान छ । तर सूचनालाई नजरअन्दाज गर्न नमिल्ने सुरक्षा अधिकारीहरुको भनाई छ । 

भारतमा पछिल्लो समय जहाजमा बम राखिएको हल्ला तीब्र रुपमा बढिरहेको छ । भारतको उड्ययन मन्त्रालयका अनुसार तीन साताभित्र करिब डेढ सय जहाजमा बम राखिएको गलत सूचना फैलाइएको छ । मन्त्रालयले यस अवधिमा गलत सूचनाको कारण करिब १२ सय करोड नोक्सानी भएको पनि बताएको छ ।

टिप्पणीहरू