पूर्व माओवादी सबै एक ठाउँ आउने कुरामा प्रश्नै प्रश्न

पूर्व माओवादी सबै एक ठाउँ आउने कुरामा प्रश्नै प्रश्न

मार्क्सवाद पुरानो भयो भन्दै नयाँ गर्न हिँडेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आज पनि चर्कैसँग खनिनुभएको छ । 

महिन्द्र राय यादव र गङ्गानारायण श्रेष्ठहरुले साथ छोडेपछि थप एक्लिनुभएका उहाँ त्यसयता प्रचण्डको कडा आलोचकका रुपमा रहँदै आउनुभएको छ । पछिल्लो एक महिनायता मात्रै प्रचण्डको आलोचनामा आधा दर्जन स्टाटस लेख्नुभएका उहाँले सार्वजनिक कार्यक्रमहरुमा पनि कटाक्ष गरिरहनुभएकै छ । 

केही दिन बिराएर सामाजिक सञ्जालबाट पूर्व सहकर्मीको यसरी उछित्तो काढ्दै आउनुभएका डा. भट्टराईले आज पनि त्यस्तै स्टाटस लेख्नुभएको हो । 'अब प्रचण्डले नेतृत्व गरेको गुटलाई माओवादी भन्नुभन्दा प्रचण्डपन्थी भन्नु उपयुक्त होला’,कटाक्ष गर्दै उहाँ लेख्नुहुन्छ  । 

माओवादी कमजोर हुनुको सबै दोष प्रचण्डलाई जाने दावी गर्दै बेलैमा नयाँ समाजवादी आन्दोलन र पार्टी रुपान्तरणलाई स्वीकार गर्न नसकेको डाक्टरको ठहर छ । माओवादीको भविष्यबारे विश्लेषण गर्दै उहाँ भन्नुहुन्छ,‘वैचारिक र सांस्कृतिक रूपले स्खलित भैसकेका प्रचण्डले क्रान्तिकारी सारतत्व र इतिहास बोकेको त्यो आन्दोलन र पार्टीलाई आफ्नो निजी संसदीय सत्ता स्वार्थको साधनमा परिणत गरेपछि यो दुर्दशा भएको हो ।’

‘प्रचण्डको पार्टीको संसदीय सिट संख्या ३० हो, ३२ हैन । नेसपाका उम्मेदवारले साझा चुनावचिन्ह लिएर जितेको २ सिटलाई समेत कानूनी छिद्रमा टेकेर प्रचण्डले आफ्नो दावी गरेका मात्र हुन्’

माओवादीको संसदमा रहेको ३२ सिटमध्ये २ सिटमा हक खोज्नुभएका भट्टराईले महिन्द्रराय यादवले आफूलाई छोडेको कुरा चैँ स्टाटसमा उल्लेख गर्नुभएको छैन । ‘प्रचण्डको पार्टीको संसदीय सिट संख्या ३० हो, ३२ हैन । नेसपाका उम्मेदवारले साझा चुनावचिन्ह लिएर जितेको २ सिटलाई समेत कानूनी छिद्रमा टेकेर प्रचण्डले आफ्नो दावी गरेका मात्र हुन्’, डाक्टरको दाबी छ । 

पूर्वमाओवादीहरु एक ठाउँमा आउन लागेको हल्ला चलाएर प्रचण्डले बदमासी गरेको भन्दै उहाँले गत साता पनि यस्तै आक्रामक स्टाटस लेख्नुभएको थियो । ‘किन एक ठाउँमा जम्मा हुने ? अर्को जनयुद्ध गर्न ? या भोजभतेर गर्न ?’, उहाँले सोध्नुभएको थियो । 

प्रचण्डलाई आफ्नो क्षेत्र (गोर्खा)बाट चुनाव लड्न दिएकोमा भट्टराईको पश्चाताप पनि छ । कसैले सोधेमा उहाँको प्रतिक्रिया हुने गर्छ, ‘म राजनीतिमा लागे पनि अन्तर्यमा ऋषिमन भएको  मान्छे हुॅ, तर चुनावपछि प्रचण्डको चरम निजी सत्तालिप्सा पुन: बौरिइहाल्यो ।’

पूर्वसहकर्मीले यसरी खुलारुपमै शृंखलावद्ध आक्रोशसँगै आलोचना गर्दा प्रचण्डले भने एउटा पनि जवाफ फर्काउनुभएको छैन । कहिलेकाहीँ प्रसंगवश कुरा उठ्दा ‘बाबुरामजी अलि अफ्ठ्यारो मान्छे हुनुहुन्छ क्या पहिल्यैदेखि । मैले सम्झाएर, फकाएर मान्ने मान्छे होइन उहाँ’ भनेर चित्त बुझाएको देखिन्छ ।  

कार्यकर्ताले ‘बाबुरामसँगको एकताले पार्टीलाई फाइदा नै गर्छ’ भनेर सल्लाह दिँदा पनि प्रचण्ड ‘हुन त हो, तर उहाँको स्वभावले एडजस्ट गर्न गाह्रो हुन्छ' भन्ने गर्नुभएको छ ।

प्रचण्ड र भट्टराईबीचको पछिल्लो दूरीलाई नजिकबाट नियालिरहेका राजनीतिक विश्लेषक श्याम श्रेष्ठलाई लाग्छ, 'एउटै विधारधाराले जोडिएका व्यक्तिहरु कालान्तरमा उस्तै नरहन सक्छन् ।' जनयुद्ध शुरुताका प्रचण्ड र भट्टराईमा रहेको व्यक्तिगत स्वभावसँगै वैचारिकता अहिले पूर्णरुपले परिवर्तन भइसकेको उहाँको विश्लेषण छ । 

दुई नेतामध्ये को-कसरी परिवर्तन भए ? त्यसबारे छुट्टै चर्चा गर्न सकिने श्रेष्ठले बताउनुभयो । ‘बाबुरामजीले अहिले जुन शैलीमा प्रचण्डमाथि आक्रोश पोख्नुभइरहेको छ, त्यो स्वभाविक हो’, उहाँ भन्नुहुन्छ, ‘प्रचण्डले तेस्रो पटक प्रधानमन्त्री भइसकेपछि गर्नैपर्ने केही कामहरु थिए, त्यो गर्नसक्नुभएन, समीकरण फेरबदलमा बढी ध्यान गयो उहाँको ।’

तर, लामो राजनीति गरिसकेको व्यक्तिले कोहीविरुद्ध आक्रोश पोख्दा संयमता अपनाउनुपर्ने विश्लेषक श्रेष्ठको सुझाव छ । ‘बाबुरामजी पनि अहिले कुन कित्तामा हुनुहुन्छ, त्यो देखिएकै छ । तर, जे भए नि उहाँ पनि पूर्वमाओवादी नै हो । प्रचण्डलाई आक्षेप लगाउँदै गर्दा कमजोरीका हिस्सा त आफ्नो भागमा पनि पर्छ नि ! बाबुरामजीले आफूलाई मात्र सफा देखेर अरुलाई फोहोर देख्नुभएन’, उहाँ भन्नुहुन्छ ।

टिप्पणीहरू