रविको निम्ति ओलीपछि आरजूसङ्ग हारगुहार

रविको निम्ति ओलीपछि आरजूसङ्ग हारगुहार

सहकारी ठगीमा समातिएका सभापति रवि लामिछानेलाई सडकको बलमा छुटाउन कस्सिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरु सरकारसँग संवादमा पनि जुटिरहेका छन् । 

रास्वपा उपसभापति डोलप्रसाद अर्याल र प्रमुख सचेतक सन्तोष परियारले अस्ति मध्यराति बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग 'हारगुहार' गरेका थिए । दिनभर सडक प्रदर्शन गरेर साँझ परेपछि बालुवाटार छिरेका उनीहरुले सकारात्मक जवाफ नपाएको र आज काँग्रेससँग सम्पर्कको प्रयासमा रहेको बुझिएको छ । 

बताइएअनुसार उपसभापति अर्यालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न प्रयास गरिरहेका छन् । तर,देउवाले भेट्न नमानेपछि परराष्ट्रमन्त्रीसमेत रहेकी देउवापत्नी डा. आरजु राणासँग उनले भेटको प्रवन्ध मिलाइदिन अनुरोध गरेको बुझिएको छ । 

अर्यालले आफ्ना सभापति छुटाउन कांग्रेस सभापतिलाई भेट्न चाहेको तर सफल नभएपछि आरजुलाई म्यासेज पठाएको बुढानिलकण्ठ निकट स्रोतले जानकारी दिएको छ । 

यता, उज्यालोमा चर्का कुरा गर्ने तर रात परेपछि नेताहरु प्रधानमन्त्री र सत्तारुढ पार्टीका नेतासंग हारगुहार गर्दै हिंड्न थालेपछि रास्वपाका कार्यकर्ता नेतृत्वसँग रुष्ट भएका छन् । नेताहरुको यस्तै रवैया रहिरहे आन्दोलनमा सहभागी नहुने तहमा असन्तुष्टि चर्किएको बताइन्छ ।
 

टिप्पणीहरू