सर्वोच्चको श्रीमान बन्न १५ पेजको कार्ययोजना

सर्वोच्चको श्रीमान बन्न १५ पेजको कार्ययोजना

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलाले कार्ययोजना पेश गरेका छन् । सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा निरौलाले १५ पृष्ठ लामो कार्ययोजना प्रस्तुत गरेका हुन् ।

पेश गरिएको १५ पृष्ठ र १५ बुँदाको अवधारणा तथा १० बुँदे कार्ययोजनामा संवैधानिक सर्वोच्चता र न्यायिक मूल्यप्रति सचेत र समर्पित भएर न्याय सम्पादन गर्ने प्रतिवद्धता जनाइएको छ । २०८३ सम्म पाँच वर्ष पुराना सबै मुद्दाहरु फछ्र्यौट गर्ने र तीन वर्ष नाघेका मुद्दालाई २०८५ असार मसान्तसम्म टुंग्याउने निरौलाको बाचा छ । 

त्यस्तै, फैसलाको पूर्ण पाठ सकेसम्म छिटो मुद्दाका सम्बन्धित पक्षहरुलाई उपलब्ध गराउने प्रणालीको विकास गर्ने योजना पनि समिति बैठकमा सुनाएका छन् । विवाद समाधानका वैकल्पिक उपाय अवलम्बन, सूचना प्रविधिको प्रयोग, न्यायिक सुशासन, न्यायमा पहुँच वृद्धि, सर्वोच्च अदालतमा रहेका मुद्दाको कार्यबोझ व्यवस्थापनमा पनि सुधारमुखी काम गर्ने निरौलाको प्रतिबद्धता छ । 

खोटाङका निरौला यसअघि उच्च अदालत पाटनमा मुख्य न्यायाधीश थिए । कानुन र राजनीतिशास्त्रमा स्नातकोत्तर उनीसँग न्याय परिषदमा सचिव भएर काम गरेको अनुभवसमेत छ । उनी २०५० सालदेखि कानुनी पेशामा छन् ।

टिप्पणीहरू