पर्वतको भवानी विद्यापीठलाई चिनियाँ सहयोगको ओइरो
पर्वतको फलेबास ५, खानीगाउँस्थित भवानी विद्यापीठलाई चीन सरकारले विभिन्न सहयोग उपलब्ध गराउने भएको छ । नेपालका लागि राजदूत छन सोङले आज दिउँसो उक्त विद्यालय परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सहयोगको प्रतिबद्धताबारे जानकारी दिनुभएको छ ।
राजदूतले चिनियाँ दूतावासको तर्फबाट विद्यालयमा तत्काल एक थान स्मार्ट स्क्रिन उपलब्ध गराउन लागिएको बताउनुभयो । त्यसैगरी उक्त विद्यालयका दुई जना विद्यार्थीलाई चीनमा उच्च शिक्षाको अवसर दिइने छ । चीन पुगेपछि सम्बन्धित विद्यार्थीले आफ्नो शैक्षिकस्तरसँगै चिनियाँ भाषाको राम्रो दखल राख्ने विश्वास उहाँले लिनुभएको छ ।
त्यसैगरी भवानी विद्यापीठका शिक्षक शिक्षिकालाई पनि थप अध्ययन र अवलोकन भ्रमणको अवसर उपलब्ध गराइने राजदूतले आफ्नो सम्बोधनमा उल्लेख गर्नुभयो । यसबाट उनीहरुको अध्यापन क्षमतामा वृद्धि हुने ठानिएको छ । त्यसैगरी विद्यालय हातामा खानेपानी शुद्धताको निम्ति दूतावासले गान्लु परियोजनाअन्तर्गत आवश्यक उपकरण उपलब्ध गराउने भएको छ ।
सात दशक पुरानो उक्त विद्यालयको सुविधा सम्पन्न भवन निर्माणमा समेत चीनले सहयोग गर्नसक्ने बताइएको छ । हाल १२ कक्षामा ४८६ जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयका धेरै पूर्व विद्यार्थी नेपालको प्रशासनिक,राजनीतिक एवम् सुरक्षा क्षेत्रको उच्च तहमा पुगिसकेका छन् ।
मुस्ताङको कोरोला नाकाको आधुनिकीकरण, कालीगण्डकी कोरिडर सडकको निर्माणमा समेत चीनले विशेष चासो राखेको छ । नजिकैको पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइसकेको छ ।
लोकतान्त्रिक संघीय गणतन्त्र नेपालको स्थापनापछि साविकका ११ वटा गाविस मिलेर बनेको फलेबास नगरपालिकामा ११ वडा छन् । नगरपालिका पांगरांगको कालीगण्डकी किनारदेखि २२५९ मिटरको उचाइमा रहेको डहरे देउराली लेकसम्म फैलिएको कंगारु आकारमा छ ।
नगरपालिकाको कुल क्षेत्रफल ८५.७ वर्ग किलोमिटर छ भने राजधानी काठमाडौंदेखि २७० किलोमिटर पश्चिम र प्रदेश राजधानी पोखरादेखि पनि पश्चिममा छ । नगरपालिकाका कुल ५,७३७ घर परिवारमा ३४,५७२ जना सबैै जातजातिका छन् । हावापानीको विविधताका कारण यहाँ कृषि, पशुपालनलगायत धार्मिक साँस्कृतिक सम्पदा तथा पर्यटनको क्षेत्रमा प्रशस्त सम्भावना देखिन्छ ।
तस्बिरहरुः
टिप्पणीहरू