फोहोरको राजनीति अन्त्य भएको बालेनको ठहर
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले फोहोर व्यवस्थापनमा राजनीति गर्ने दिनको अन्त्य भएको बताएका छन् । सर्वोच्च अदालतले फोहोर व्यवस्थापनको अधिकार महानगरमै निहित रहने आदेश गरेपछि उनले त्यसो भनेका हुन् ।
संघीय सरकारको हस्तक्षपले फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनेको उल्लेख गर्दै बालेनले अदालतको आदेशपछि अवरोधको पाखा हटेको बताए । सामाजिक सञ्जालमा केही बेरअघि स्ट्याट्स लेख्दै उनले सबै दाउपेच छोडेर महानगरको काममा सहयोगी बन्न संघीय सरकारलाई आग्रह पनि गरेका छन् ।
‘सम्मानित अदालतले यो अधिकार काठमाडौं महानगरमै निहित रहेको भन्ने आदेश दिएपछि काठमाडौंको फोहोर व्यवस्थापनमा हामी एक कदम अगाडि बढेका छौं । अवरोध, हस्तक्षेप, राजनीतिका खराब दाउपेच अझैपनि हुन सक्छ । तर, हामी रोकिने छैनौं’, उनले भनेका छन्,‘यसैले सबै किसिमको दाउपेच छोडेर, राजनीतिक पूर्वाग्रह त्यागेर महानगरको काममा सहयोग बन्न आग्रह गर्दछौं ।’
त्यस्तै, मेयर बालेनले फोहोरको दिगो व्यवस्थापनमा महानगर लागि परेको जानकारी गराएका छन् । स्वच्छ वातावरणमा बस्न पाउने काठमाडौं महानगरबासीको अधिकारको विषयमा रत्तिभर पनि सम्झौता नगर्ने उनले स्ट्याट्समा उल्लेख गरेका छन् ।
‘काठमाडौंको फोहोरको दिगो समाधान सम्भव छ । यो काठमाडौंबासीको अधिकारको कुरा हो । हामीले फोहोर थुपारेर वर्षौंदेखि अन्याय गरिरहेको सिसडोल र बञ्चरेडाँडालगायत स्थानका पीडितहरुको न्यायको कुरा हो । यो हजारौंको रोजगारी र देशभरको गौरव जोडिएको विषय हो । हामी समस्या समाधानको बाटोमै छौं, अवरोध अझै आउन सक्छन् तर यसमा रत्तिभर पनि सम्झौता नगरी अगाडि बढ्ने छौं’, बालेनले लेखेका छन् ।
उनका अनुसार महानगरले फोहोरलाई वर्गीकरण गरेर अर्गानिक मल बनाउने काम तीव्र रुपमा अगाडि बढाएको छ । नकुहिने फोहोर व्यवस्थापनका लागि अध्ययन भइरहेको उनको जिकिर छ ।
टिप्पणीहरू