बढ्दै सवारी दुर्घटना, थर्कमान कर्णालीबासी

बढ्दै सवारी दुर्घटना, थर्कमान कर्णालीबासी
सुन्नुहोस्

सवारी दुर्घटनामा परेको सुन्नु कर्णालीबासीको लागि सामान्यझैं भइसकेको छ । दिनहुँजसो कहीँ न कहीँ सवारी दुर्घटनामा परिरहेको हुन्छ । तर, पछिल्लो केही दिनयता भएको सवारी दुर्घटनाले कर्णालीबासीलाई त्रसित बनाएको छ । एकपछि अर्को ठूला सवारी दुर्घटनामा परेको छ । जसका कारण उनीहरु गाडी चढ्न डराएका छन् । 

गत कात्तिक २६ गते जाजरकोटमा भयानक जिप दुर्घटना भयो । दुर्घटनामा दुई दर्जन बढी घाइते भए । भेरी नगरपालिका–७ स्थित स्याउली बजारबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.५ख १८९२ नम्बरको जिप जिरो प्वाइन्ट नजिकै दुर्घटनामा परेको हो । 

गाडी सडकबाट झण्डै ४० मिटर तल खसेको थियो । जिल्लाको नलगाड नगरपालिकामा पनि सोही दिन सवारी दुर्घटनामा पर्यो । बारेकोट गाउँपालिकाबाट जाजरकोटको खलंगा आउँदै गरेको भे.१ज ५९५ नम्बरको जिप वडा नम्बर ४, बाउसेखोला जिरो प्वाइन्टमा दुर्घटनामा पर्दा सात जना घाइते भए ।

सात जनाको सिट क्षमता भएको उक्त जिपमा १० जना यात्रु सवार थिए । गएको कात्तिक २३ गते सुर्खेत–दैलेख सीमास्थित वीरेन्द्रनगर नगरपालिका–१४, रातानाङ्ग्लानजिकै गाडी दुर्घटना भयो ।  दैलेख बजारबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ख ०९९८ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेको हो । 

दुर्घटनामा गाडीमा सवार चालकसहित चार जनाको ज्यान गयो । १५ जनाको सिट क्षमता भएको उक्त गाडीमा ३४ जना यात्रु सवार हुँदा दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । अन्य सबै यात्रु घाइते भएका हुन् । यी त पछिल्ला दिन कर्णालीमा घटेको सवारी दुर्घटनाको केही उदाहरण मात्र हुन् । कर्णालीमा हरेक दिन सवारी दुर्घटना हुने गरेको छ भने कसै न कसैले ज्यान गुमाइरहेका हुन्छन् । 

किन बढ्दैछ दुर्घटना ? 

कर्णालीमा सवारी दुर्घटना बढ्नुको पछाडि धेरै कारण छन् । जसमा सवारी चालकको लापरवाही प्रमुख रहेको सरोकारवालाहरु बताउँछन् । अर्को प्रमुख कारण होः स्तरहीन सडक । कर्णालीको सडकको अवस्था निकै दयनीय छ । साँघुरो सडक, त्यसमा पनि खाल्डाखुल्डी । त्यहाँको सडकलाई मृत्युमार्ग भन्दापनि खासै फरक नपर्ला । 

सिट क्षमताभन्दा तेब्बर यात्रु खाँद्ने प्रवृत्तिले दुर्घटनालाई मलजल गरिरहेको छ । सरकारले छतमा यात्रु हाल्न रोक लगाएको छ । तर, अनुगमनको अभावले गर्दा सवारी चालकले अटेर गरेका छन् । छतमा पनि यात्रु हालेर सवारी साधन दौडाउने गरिन्छ । मृत्युमार्गजस्तो सडकमा तीव्र गतिमा सवारी साधन चलाउँदा दुर्घटना बढेको जानकारहरुको जिकिर छ । 

यान्त्रिक अवस्था ठीक नभएका गाडीहरु कर्णालीमा सञ्चालनमा छ । झ्यालका सिसा फुटेका, टायर घिस्रिएका, थोत्रा भइसकेका, बत्ती नबल्ने गाडी चलिरहेको छ । सिण्डिकेटका कारण कर्णालीबासी ज्यानको बाजी राखेर यात्रा गर्न बाध्य छन् । थोरै संख्यामा गाडी भएकाले ढोकामा झुण्डिएर, छतमा बसेर उनीहरु यात्रा गरिरहेका छन् । 

यता, त्यहाँ सवारी चालकहरु निकै कम उमेरका छन् । भर्खर–भर्खर गाडी सिकेकाहरु सार्वजनिक यातायात हाँक्छन् । जसले गर्दा यात्रुले अकालमा ज्यान गुमाउनुपरेको छ । 

दुर्घटना न्यूनिकरणका लागि प्रदर्शन

सरोकारवालाले दुर्घटना न्यूनिकरणमा चासो नदेखाएपछि कर्णालीबासी सडकमा उत्रिएका छन् । उनीहरुले सडकबाट नियामक निकायको ध्यानाकर्षण गराएका छन् । सवारी दुर्घटना न्यूनिकरणका निम्ति गत कात्तिक २४ गते सुर्खेतमा प्रदर्शन गरिएको छ । 

यातायातसँग सम्बन्धित ऐन पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने, सिट क्षमताभन्दा बढी यात्रु राख्ने सवारी चालक र धनीलाई कारबाही गर्नुपर्ने, चेकपोष्टमा भएका प्रहरीलाई कारबाही गर्नुपर्ने उनीहरुको माग छ । दुर्घटना न्यूनिकरणका लागि सरकारले पहलकदमी भूमिका निर्वाह नगरेको उनीहरुको गुनासो छ । सरकारले कर्णालीबासीलाई दोस्रो दर्जाको नागरिकमा राखेको उनीहरु बताउँछन् । 

ट्राफिकप्रति बढ्दै असन्तुष्टि

सवारी दुर्घटना बढ्न थालेपछि कर्णालीबासी ट्राफिक प्रहरीदेखि रुष्ट बनेका छन् । ट्राफिकले अनुगमन नगर्दा दुर्घटना बढेको उनीहरुको आरोप छ । सामाजिक सञ्जालमा समेत ट्राफिकको व्यापक विरोध भइरहेको छ । ट्राफिक अनुगमनभन्दा पनि कमाउधन्दामा लागेको सर्वसाधारणको आरोप छ । 

एक जना सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छन्,‘चालकहरु पैसा कमाउनका लागि जे पनि गर्छन् । तर, नियमनकारी निकायले अनुगमन गर्नुपर्यो नि । नियमनकारी निकाय निदाएपछि चालकहरुको मनोबल झनै बढेको छ ।’

अर्कोले भनेका छन्,‘वर्षेनि जाजरकोटमा धेरै सवारी साधन दुर्घटना हुन्छ । तर, दुर्घटना भएपछि मात्र हामी अतालिन्छौं । सबै सचेत भए मात्र दुर्घटना न्यूनिकरण गर्न सकिन्छ ।’ अर्को एक जनाले अवस्था र व्यवस्थालाई लिएर टिप्पणी गरेका छन् । उनी भन्छन्,‘अवस्था कमजोर, व्यवस्थापन अस्तव्यस्त ।’ 

सामाजिक सञ्जालमा भेटिएको छ,‘ट्राफिक के हेर्छ खोइ ? सिट क्षमताको तेब्बर यात्रु हाल्दापनि ट्राफिकले कारबाही गर्दैन् ।’

‘यात्राको क्रममा सवारीको अवस्था, चालकको सवारी चलाई र सवारीको क्षमताअनुसार यात्रु सवार छन् कि छैनन् भनि नियमन गर्ने नियमनकारी क्षणिक स्वार्थबाट माथि उठेर नियमन गरेमा कर्णालीमा हुने दुर्घटना कम गर्न सकिन्थ्यो कि जस्तो लाग्छ ?’, सञ्जालमा लेखिएको छ । 

चौतर्फी विरोध भएपछि ट्राफिक प्रहरीले अनुगमन र कारबाहीलाई तीव्रता दिएको छ । सवारी साधनमा चढेर नक्कली सिटहरु निकाल्न थालिएको छ । प्रहरीले गाडीबाट दैनिक सयौं नक्कली सिट निकाल्ने गरेको छ । 

के भन्छन् अभियन्ता ? 

यातायात अभियन्ता रामबहादुर थापा सवारी दुर्घटनामा सरकार गम्भीर नभएको बताउँछन् । थोत्रा गाडी चलाएर यात्रु मार्दासमेत सरकार रमिता हेरेर बसेको उनको आरोप छ । सिण्डिकेट तोडेमा, ठाउँ–ठाउँमा सवारी चेकिङ्ग गरेमा, २० वर्ष कटेका वा कण्डिशन ठीक नभएका सवारी चलाउन रोक लगाएमा, २१ वर्ष नाघेका र एसईई पास गरेकालाई मात्र लाइसेन्स दिने व्यवस्था गरेमा दुर्घटना न्यूनिकरण गर्न सकिने उनको जिकिर छ । 

‘सवारी दुर्घटना हुनुपछाडि धेरै कारण छ । भर्खरका बालकले गाडी हाँकिरहेका हुन्छन् । सिटभन्दा बढी यात्रु खाँद्दा पनि ट्राफिकले कारबाही गर्दैन् । थोत्रा गाडीले यात्रु बोकिरहेको छ । सडकको अवस्था नाजुक छ । लामो समयदेखि सिण्डिकेट छ । जनसंख्या बढेको बढ्यै छ, गाडीको संख्या थपिएको छैन् । सरकारले यी विषयमा ध्यान दिने हो भने सवारी दुर्घटना कम हुन्छ’,उनले भने ।

टिप्पणीहरू