नौ युट्युब च्यानलमाथि काउन्सिलको कारबाही, तीनमाथि साइबर ब्यूरोको अनुसन्धान
प्रेस काउन्सिल नेपालले अराजकता फैलाएको आरोपमा नौ वटा युट्युब च्यानललाई कारबाही गरेको छ । गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरेपछि ती च्यानललाई कारबाही गरिएको बताइएको छ ।
अप्रमाणित र एकपक्षीय सामाग्रीलाई तत्काल हटाउन र स्थगन गर्न समेत काउन्सिलले निर्देशन दिएको छ । दर्ता नभएका र सूचीकरणमा नपरेका तीन वटामाथि आवश्यक अनुसन्धान र कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्राचार गरिएको छ ।
लेकाली खबर, खबर बुलेटिन टिभी, न्युज इन नेपाल, रातोपर्दा टिभी, योहो टेलिभिजन एचडी, गुन्द्रुक न्युजमाथि निर्देशन र स्पष्टीकरण सोधिएको छ । पूर्वी गर्जन मिडिया, सगरमाथा पाना र नेपाल लाइभ एचडीमाथि कारबाहीको निम्ति साइबर ब्युरोमा पत्राचार गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा केही दिनदेखि विभिन्न आरोपसहित अफवाहपूर्ण सामाग्री प्रसारित भएपछि त्यस्ता सञ्चार माध्यमलाई कारबाही गरिएको काउन्सिलको दाबी छ । आज जारी विज्ञप्तिमा आधिकारिक एवम् विश्वसनीय सूचना प्रवाहबाट मात्र पत्रकारिता बलियो र प्रभावकारी हुने भएकाले भ्रम नफैलाउन सबैलाई आग्रह गरिएको छ ।
अभिव्यक्ति स्वतन्त्रता भनेको अराजकता र स्वच्छन्दता कदापी नरहेको प्रेस काउन्सिलले विज्ञप्तिमार्फत भनेको छ ।
टिप्पणीहरू