रविको आदेशविना रास्वपा नहल्लने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले थुनामा रहेका सभापति रवि लामिछानेसँग सल्लाह गरेरमात्रै दोस्रो चरणको आन्दोलन अघि बढाउने भएको छ ।
सहकारी ठगीको आरोपमा समातिएका लामिछानेको रिहाईका लागि रास्वपाले शनिबारदेखि दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । तर, न्यायिक प्रक्रियामा प्रवेश गरिसकेको विषयमा सडक प्रदर्शन गर्दा पार्टीप्रति आमरुपमा नकारात्मक धारणा बन्ने भन्दै अधिकांश नेता आन्दोलनको विपक्षमा छन् ।
त्यसैले रविसँगै सल्लाह गरेर मात्र निर्णय लिने तयारीमा रास्वपा रहेको बुझिएको छ । आफूलाई कार्यावहक सभापतिको जिम्मेवारीमा प्रस्तुत गर्दै आएका र आन्दोलन संयोजकको भूमिकामा रहेका उपसभापति डिपी अर्यालले हिजो आकस्मिक बैठक भन्दै नेताहरुलाई पार्टी कार्यालय बोलाएका थिए । तर, अर्का उपसभापति डा. स्वर्णिम वाग्ले, सुमना श्रेष्ठलगायत प्रभावशाली नेताहरु बैठकमा गएनन् ।
‘अब विचार गरेर मात्र आन्दोलन गर्नुपर्ने’ जनाउँदै उनीहरु बैठकमा नगएपछि दोस्रो चरणको आन्दोलन अप्ठेरोमा परेको सो पार्टी सम्वद्ध स्रोतले जानकारी दिएको छ । सभापति लामिछाने दोषी ठहर भइहालेमा पार्टीलाई कसरी अघि बढाउने ? भन्नेबारेमा बहस केन्द्रित हुनुपर्ने वाग्ले समूहको तर्क छ ।
‘सभापतिज्यूले क्लिन चिट पाएको हेर्ने हाम्रो सबैको चाहना हो, तर दोषी ठहर भइहालेमा त्यसपछि गर्ने के ?', वाग्ले निकट एक नेता भन्छन्, 'यो दृष्टिकोणबाट सोच्न थालेका छौँ ।’
ती नेताका अनुसार अर्याल समूहका नेताहरु भने सडक संघर्षबाटै सभापति लामिछानेलाई हिरासतमुक्त गराउन सकिनेमा विश्वस्त देखिएका छन् । तर, हालसम्मको आन्दोलनलाई सरकारले खासै चासो नदिएको भन्दै वाग्ले समूहको फरक एजेण्डासहित अघि जानुपर्नेमा जोड छ ।
‘हामीले प्रदर्शन गर्न लागेको एक महिना नाघिसक्यो, तर सरकारले केही वास्ता गरेन, यही तरिकाले अघि जाँदा आगामी दिनमा पनि केही हुँदैन’, उनी थप्छन्, ‘त्यसैले सभापतिज्यूको विषयलाई अदालती प्रक्रियाकै जिम्मा लगाएर जनसरोकारका अन्य विषयलाई एजेण्डा बनाउनुपर्छ ।’
हिजो अर्यालले बोलाएको बैठकमा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, सहप्रवक्ता मनिष झा, विपिन आचार्य, प्रतिभा रावल, क्रान्तिशिखा धिताल लगायतका नेताहरु सहभागी भएका थिए । अर्का उपसभापति वाग्ले र पूर्व शिक्षामन्त्री सुमनासहित गणेश कार्की, असिम शाह, खुस्बु वली, सोभिता गौतमलगायतका नेताहरु भने जूमबाट जोडिएका थिए । काठमाडौँमै रहेका उनीहरु बैठकमा नजानुलाई कार्यकर्तापंतिले पार्टीभित्रको अन्तरसंघर्षकै एउटा पक्ष ठानेको छ ।
सभापतिलाई बचाउनकै लागि अब सडक आन्दोलन गर्ने कि नगर्ने भन्ने विषयमा दुई उपसभापतिबीच कुरा नमिल्दा कार्यकर्ता अन्यौलमा रहेको बताइन्छ ।
टिप्पणीहरू