प्रधानसेनापति आजदेखि भारतीय सेनाको मानार्थ महारथी

प्रधानसेनापति आजदेखि भारतीय सेनाको मानार्थ महारथी

प्रधान सेनापति अशोकराज सिग्देलले भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्राप्त गर्नुभएको छ । भारतको राजधानी नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज राष्ट्रपति द्रौपदी मुर्मूले मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो। 

प्रधान सेनापति सिग्देल भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणमा श्रीमती र छोरासहित अस्ति त्यता जानुभएको थियो । उहाँ पर्सि स्वदेश फर्कने कार्यक्रम छ । 

मंसिर पहिलो साता भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई पनि काठमाडौंमा नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिएको थियो । मंसिर ६ गते राष्ट्रपति तथा सेनाका परमाधिपति रामचन्द्र पौडेले उक्त दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

यसबीच प्रधानसेनापति नयाँ दिल्लीमा उच्चस्तरीय भेटघाटमा व्यस्त हुनुभएको छ । उहाँले भारतीय समकक्षी स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीसँग हिजो भेटवार्ता गर्नुभएको हो । त्यसैगरी राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोभल, चिफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहान, रक्षा सचिव, विदेश सचिवसँग पनि छुट्टा–छुट्टै भेटघाट गरेको बताइएको छ ।

उहाँले हिजो नयाँ दिल्लीस्थित राष्ट्रिय समर स्मारकमा पुष्पगुच्छा चढाएर शहीदहरुप्रति श्रद्धान्जली अर्पण गरेको सेनाले जनाएको छ । सो क्रममा भारतीय सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
 

टिप्पणीहरू