डेढ दशकअघि क्रिकेटबाट सन्यास लिएका खेलाडी आइपुगे
विश्व चर्चित क्रिकेटर ब्रायन लारा नेपाल आएका छन् । उनी आज बिहान काठमाडौँ ओर्लिएका हुन् । लारालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी र कर्मचारीले स्वागत गरेका थिए ।
ब्रायन क्यानको निमन्त्रणमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणका खेलहरु हेर्न नेपाल आएको बताइन्छ । यद्यपि, उनले सबै खेल नहेर्ने बुझिएको छ ।
दुई÷तीन दिन टियु क्रिकेट मैदानमा पुगेर खेलहरु हेर्ने क्यान स्रोतले बताएको छ । उनी सोमबार स्वदेश फर्किने बताइएको छ।
वेस्ट इण्डिजका लिजेण्डरी क्रिकेटर मानिने ब्रायनले टेस्ट क्रिकेटको एउटै इनिङ एक्लै चार सय रन बनाएर कीर्तिमानी बनाएका थिए । ब्रायनले १३१ टेस्टमा ११ हजार ९५३ रन बनाएका छन् भने एक दिवसीयमा १० हजार ४०५ रन बनाएका छन्।
५५ वर्षीय ब्रायनले सन् २००७ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।
टिप्पणीहरू