रविका मान्छेद्वारा वकिल कुटिएको घटनाप्रति बारको विरोध, सडकमा उत्रने विद्यार्थीको तयारी
कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणप्रति आपत्ति जनाएको छ ।
बारले आज विज्ञप्ति जारी गर्दै हिजोको सो घटनालाई स्वतन्त्र न्यायपालिकामाथिको उपहास भनेको छ । कानुन व्यवसायीको हैसियतले आफ्नो पक्षको प्रतिनिधित्व गर्न पुगेका अधिवक्ता अदालत परिसरमै कुटिनुले उनीहरुको पेशागत सुरक्षामाथि चुनौती बढेको विज्ञप्तिमा उल्लेख छ ।
‘न्यायिक निरुपणको सन्दर्भमा कानुन व्यवसायीको हैसियतले आफ्नो पक्षको प्रतिनिधित्व गर्नु कानुन व्यवसायीको संवैधानिक तथा कानुनी दायित्वको साथै व्यवसायिक कर्तव्य र जिम्मेवारी पनि हो', विज्ञप्तिमा भनिएको छ, 'न्यायालय परिसरभित्रै कानुन व्यवसायीमाथि हुने यस प्रकारका घटनाले स्वतन्त्र न्यायपालिकाको उपहास गर्नुका साथै कानुन व्यवसायीको पेशागत सुरक्षामाथि नै गम्भीर चुनौती देखिएको छ ।'
साथै, बारले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट र गालीगलौज गर्ने व्यक्तिहरुलाई अविलम्ब कानुनी कारबाहीको दायरामा ल्याउन जोडदार माग गरेको छ ।
काठमाडौँ जिल्ला अदालतमा दायर स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा बहस सकेर बाहिर निस्कँदै गर्दा हिजो वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात भएको थियो । पीडित जाहेरकर्ताका तर्फबाट बहस गरेका उनले आफूमाथि रास्वपा कार्यकर्ताले अश्लिल गालीगलौज गर्दै आक्रमण गरेको बताएका छन् ।
सो घटनाको सर्वत्र विरोध भैरहँदा कानुन पढ्ने विद्यार्थीहरुले आज काठमाडौँमा विरोध प्रदर्शनको तयारी गरेका छन् । प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा साँझ ५ बजे प्रदर्शन गरिने जनाइएको छ ।
टिप्पणीहरू